निजी क्षेत्रलाई प्रश्न-‘ कांग्रेसको सरकार भए के पाउनुहुन्थ्यो ?’

काठमाडौं, २ फागुन । सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी क्षेत्रलाई कम्युनिष्टको ठाउँमा कांग्रेसको सरकार भएको भए के सुविधा पाउनुहुन्थ्यो भन्ने प्रश्न गरेका छन् ।

शुक्रबार २६ औं क्यान इन्फो टेकको उद्घाटन कार्यक्रममा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले निजी क्षेत्रले हरेक ठाउँमा सरकारले हाम्रो काममा कुनै सहयोग गरेन भन्ने गुनासो गर्ने भएको कारण यस्तो प्रश्न गरेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले अहिलेको सरकारले जस्तो निजी क्षेत्रलाई हालसम्म कुनैपनि सरकारले सहयोग नगरेको समेत बताए ।

‘मलाई अचम्म लाग्छ हामीले यतिधेरै सहयोग गर्दापनि निजी क्षेत्र हरेक ठाउँमा सरकारले हामीलाई कुनैपनि काममा सहयोग गरेन भन्दै हिड्छन्’ उनले भने, ‘ कम्युनिष्टको ठाउँमा कांग्रेसको सरकार भएको भए के सुविधा पाउनुहुन्थ्यो ?

यसका साथै उनले हरेक ठाउँमा सरकार निजी क्षेत्रसंगसँग मिल्नुपर्छ भन्ने कुरा गर्ने गरेको कारण मिल्दा मिल्दा सरकारको हड्डी खिईसकेको कारण अझै के कुरामा मिल्न बाँकी छ र भन्ने प्रश्न पनि मन्त्री बाँस्कोटाले गरे ।

‘हरेक ठाउँमा सरकारले निजी क्षेत्रलाई हेला गर्यो, हामीसँग मिल्न सकेन भन्छन्’ उनले भने, ‘निजी क्षेत्रसंग मिल्दा मिल्दा सरकारको हड्डी खिईसकेको छ, अझै के चाहियो निजी क्षेत्रलाई ?’

नेपालको आईटी क्षेत्रको विकास सोँचेजस्तो नभएको कारण डिजिटल नेपाल निर्माण गर्नको लागि आईटी क्षेत्रको विकास महत्वपुर्ण रहेको कारण आईटीको विकास दु्रत गतिमा गर्नुपर्ने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलले राष्ट्रिय लक्ष्य प्राप्तिको लागि प्रविधिको विकास अनिवार्य रहेको भन्दै सरकार जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको बताए ।

‘सरकारले योजना गरेको राष्ट्रिय लक्ष्य प्राप्त गर्नको लागि सूचना तथा प्रविधि क्षेत्रको विकास एउउटा प्रमुख औजार हो’ उनले भने, ‘यस क्षेत्रको विकास गर्नको लागि सरकार जस्तोसुकै सहयोग गर्नपनि तयार छ ।’

शुक्रबार सुरु भएको मेला फागुन ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । मेलामा सूचना तथा प्रविधि क्षेत्रको हरेक नविनतम् उत्पानहरु समावेश रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here