८८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच, टुकी बत्ती युगको अन्त्य हुँदै

काठमाडौं , ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै नेपालले भारतबाहेकका तेस्रो मुलुकमा बिजुली बिक्री गर्ने जनाएका छन्। सरकारका दुई वर्षे कामका विषयमा जानकारी गराउदै ओलीले ‘लोडसेडिङ्गको पूर्ण अन्त्य भएको मात्र होइन, छिमेकी भारतलाई विद्युत बिक्रीसमेत गर्न थालेको जनाए ।

जलस्रोतको धनी तथा दक्षिण एसियामा बिजुली उत्पदन गर्ने पहिलो मुलुक हुँदा-हुँदै झण्डै सय वर्षसम्म बिजुलीको हाम्रो कूल उत्पादन ५०० मेगावाटभन्दा तलै सीमित रहेको, केही समय अघिसम्म हामी दिनको १८ घण्टासम्म लोडसेडिङ भोग्न बाध्य भएको पनि स्मरण गराएका छन्।

‘अहिले विद्युत्को कूल जडित क्षमता १ हजार २८६.६१ मेगावाट पुगको छ, यससँगै ८८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ, प्रति व्यक्ति विद्युत् खपत २४५ किलोवाट घण्टा पुगेको छ,’ उनले अगाडि सूचक प्रस्तुत गर्दै भने, ‘२२.९ प्रतिशतमा रहेको विद्युत् चुहावटलाई १५.५ प्रतिशतमा झारिएको छ, दीयालो/दीयो हुँदै मट्टितेलको प्रयोगबाट बल्ने बत्तीको युग अब सदाका लागि अन्त्य नै हुँदै छ।’

गल्छी-रसुवागढी-केरुङ ४ सय केभी क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण गर्न नेपाल विद्युत प्राधिकरण र स्टेट ग्रिड कर्पोरेशन लिमिटेड चाइनाबीच सम्झदारीपत्र सम्पन्न भएर आ-आफ्नो भू-भागमा पर्ने खण्डको अध्ययनसम्बन्धी कार्य सुरु गरिएको प्रधानमन्त्रीले जानकारी गराएका छन्।

नेपाल-भारत सीमादेखि भारतको गोरखपुरसम्मको १२० किलोमिटर लम्बाइको ४ सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको लागि नेपाल विद्युत् प्राधिकरण र भारतको पावरग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको ५०-५० प्रतिशत सेयर पुँजी रहने गरी संयुक्त स्वामित्वको कम्पनी स्थापना गर्न दुई देशबीच सहमति भएको पनि जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here