प्रादेशिक आर्थिक गतिविधि अध्ययन गर्दै राष्ट्र बैंक, त्रैमासिक रुपमा तथ्यांक निकालिने

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले मुलुकको समग्र आर्थिक गतिविधिको बृहत अध्ययन सुरु गरेको छ । यसअघि ५७ वटा जिल्लाको मुख्य मुख्य क्षेत्रमात्र अध्ययन गरेको राष्ट्र बैंकले अब समग्र आर्थिक गतिविधिको अध्ययन गर्न लागेको हो ।

सबै प्रदेशमा आर्थिक गतिविधिको अवस्था पत्ता लगाउने उद्देश्यले उक्त अध्ययन थालिएको हो । अध्ययनमा औद्योगिक बैकिङ, पर्यटन, पूर्वाधार, ठूला परियोजना, उत्पादन, रोजगारीलगायत क्षेत्रको अवस्था त्रैमासिक अर्धवार्षिक र वार्षिक रुपमा सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि आफ्ना प्रादेशिक कार्यालय तथा विभागमा निर्देशन जारी भएको छ । ‘आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन ०७६’ मा तोकिएको ढाँचा अनुसार अध्ययन गर्न अनुसन्धान विभागले सबै निकायलाई निर्देशन जारी गरिएको हो ।

यसअघि राष्ट्र बैंकले अर्धवार्षिक र वार्षिक रुपमा आर्थिक गतिविधि अध्ययन गर्दैै आएको थियो । अनुसन्धान विभागको नेतृत्वमा राष्ट्र बैंकका सात प्रादेशिक कार्यालय (साविको क्षेत्रीय कार्यालय) को सहयोगमा हुँदै आएको उक्त अध्ययनमा ५७ जिल्लामात्र समावेश गरिदै आएको थियो ।

नयाँ अध्ययनमा ७७ वटै जिल्लाका औद्योगिक, बैकिङ, पर्यटनलगायत क्षेत्रका प्रदेशगत रुपमा तथ्यांक संकलन गरिने छ ।

राष्ट्र बैंकले हाल गर्दै आएको आर्थिक गतिविधि अध्ययनमा पर्यटन, पूर्वाधार, परियोजनालाई समावेश गरिएको छैन । मार्गदर्शन अनुसार अब चैतभित्र अर्धवार्षिक र असोज भित्र वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिसक्नु पर्ने छ ।

राष्ट बैंकले गत आर्थिक वर्षको उक्त अध्ययन गत साता मात्र सार्वजनिक गरेको छ । आउँदा वर्षमा कुनै कारण विशेष बाहेक सबै प्रतिवेदन निर्धारित समयमै सार्वजनिक गरिने बताइएको छ ।

राष्ट्र बैंकका प्रादेशिक कार्यालयले पनि अर्धवार्षिक र वार्षिक रुपमा सो क्षेत्रको आर्थिक गतिविधि अध्ययन सार्वजनिक गर्ने छन् । हाल प्रादेशिक कार्यालयहरुले त्यस्तो अध्ययन गर्दैनन ।

उनीहरुले आफ्नो क्षेत्रको तथ्यांक संकलन गरी सिधै केन्द्रिय पठाउँदै आएका थिए । अब भने आफै पनि सो क्षेत्रको छुट्टै प्रतिवेदन तयार पारिनेछ ।

त्यसको आधारमा आधारमा केन्द्रिय कार्यालयले एकिकृत प्रतिवेदन तयार पार्नेछ । जसमध्ये औद्योगिक, बैकिङ र पर्यटन क्षेत्रसँग सम्बन्धीत तथ्यांक राष्ट्र बैंकले त्रैमासिक रुपमा सार्वजनिक गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here