चीन जाने नेपालीको भिसा शुल्क वृद्धि, कति बढ्यो ?

काठमाडौं, १२ फागुन । चीन सरकारले नेपाली नागरिकले तिर्नुपर्ने भिसा शुल्क वृद्धि गरेको छ। काठमाडौंस्थित चिनियाँ दूतावसाले भिसा सेवा आवेदेन केन्द्र स्थापना गरेसँगै शुल्क लगभग दुई गुनाले बढाएको छ ।

यसअघिको भिसा र सेवा शुल्क परिमार्जन गर्दै चीनले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो । शुल्क वृद्धि पश्चात अब नेपालीले चीनको भिसाका लागि ६ हजार २ सय रूपैयाँ तिर्नुपर्ने भएको छ ।

यसअघि भिसा शुल्क २ हजार २ सय रूपैयाँ रहेको थियो । तीन दिन भित्र भिसा पाउन नेपालीले ४ हजार ९ सय रुपैयाँ तिर्दै आएका थिए। सो रकम वृद्धि भएर १० हजार ७ सय ५० पुगेको छ। यो रकम छोटो अवधिको भिसा शुल्क हो।

यस्तै, चीन सरकारले नेपालसँगै अन्य देशको भिसा शुल्क समेत बढाएको छ । चीनले क्यानडा, रोमनिया, इजरायल, ब्राजिल, अर्जेन्टिनालगायत देशका भिसा शुल्क बढाएको हो ।

त्यसैगरी, सञ्चालन खर्च, कर्मचारी, उपकरण नेपालको कानून अनुसारको कर लगायत कारणले भिसा शुल्क वृद्धि गरिएको भिसा सेन्टरका निर्देशक झाङ्ग चियोङ्गले जानकारी दिएका छन् । नेपालले भने चिनियाँ नागरिकलाई निःशुल्क भिसा दिदै आएको छ ।

नेपाल प्रवेश गर्न चिनियाँ नागरिकले नेपालको भिसा लिनु पर्दैन। ४ वर्ष अघि उत्तरी छिमेकी देशका नागरिकलाई नेपालले भिसा निःशुल्क गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here