सात महिनामा कृषिजन्य सामग्री आयातमा बाहिरियो ३३ अर्ब

काठमाडौं, १२ फागुन । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा ३३ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि खाद्यान्न आयात बढ्दै गएको हो । जसमा सबैभन्दा धेरै धानचामल भित्रिएको छ ।

तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ ।

साउनदेखि माघसम्म नेपालले १९ अर्ब पाँच करोड रुपैयाँको धान चामल आयात गरेको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार १२ अर्ब ७० करोड रुपैयाँको चामल, पाँच अर्ब ९७ करोड रुपैयाँको धान र ३७ करोड ४३ लाख रुपैयाँको कनिका आयात भएको छ ।

सबैभन्दा धेरै धान चामल भारतबाट आएको छ, भारतबाट मात्रै झण्डै १८ अर्ब रुपैयाँको धानचामल आयात भएको भन्सार विभागले जनाएको छ ।

स्वदेशमा धान उत्पादनमा आउने कमी, जनसङ्ख्या वृद्धि र खानेबानीमा आएको परिवर्तनका कारण पनि आयात बर्सेनी बढेको बढ्यै छ ।

यहाँको मागअनुसार स्वदेशमा धान उत्पादन हुन नसक्दा बर्सेनी भारतमा निर्भर हुनुपरेको सरकारी तथ्याङ्क छ । सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ ।

खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बाैं रुपैयाँको चामल आयात हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here