सवारी साधनको आयातमा गिरावट, ४ अर्व ३३ करोडले ह्रास

काठमाडौं, १३ फागुन । चालू आर्थिक वर्षमा सवारीसाधन तथा हवाइ साधनको आयातमा कमी आएको छ।

गत वर्षको पहिलो ७ महिनाको तुलनामा चालू आवमा यातायातका साधन आयात घटेको हो।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले घटेको छ ।

गत आर्थिक वर्षमा ५६ अर्व ९८ करोड ११ लाख ३६ हजारको सवारी साधन आयात भएकोमा चालू आर्थिक वर्षमा ५२ अर्व ३४ करोड ७४ लाख ७९ हजारको मात्र आयात भएको छ।

हवाइ साधनमा गत वर्ष १८ अर्ब ९७ करोडको आयात हुँदा चालू आर्थिक वर्षको ७ महिनामा १५ अर्ब ३ करोडको आयात भएको छ। हवाइ साधनबाट गत वर्ष ३६ करोड राजस्व उठाएकोमा चालू आवमा २५ करोड राजस्व उठेको छ।