उद्योगलाई पाँच रुपैयाँ युनिट बिजुली, उत्पादन लागत कम गर्ने लक्ष्य

फाइलफोटो

काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई सहुलियत दरमा विजुली दिन गृहकार्य थालेको छ ।

नेपाली उद्योगको उत्पादकत्व बढाउन उनीहरुलाई प्रति युनिट ५ रुपैयाँमै बिजुली दिने तयारी थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तर, सहुलियत दर भने वर्षाको समयमा मात्र लागु हुने उनको भनाइ छ ।

‘हामी वर्षातको समयमा उद्योगलाई ५ रुपैयाँ युनिट बिजुली दिने बारेमा छलफल गरिरहेका छौं । नेपाली उद्योगहरुको उत्पादकत्व बढाइ प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सहयोग पुगोस भन्ने उद्देश्यले यस्तो गर्न लागिएको हो,’ आइतवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र विदेशी लगानी आकर्षित गर्न यो नयाँ कदमले सघाउने अपेक्षा गरिएको छ ।

घिसिङका अनुसार आगामी चार वर्ष भित्र हरेक नागरिकको पहुँचमा विद्युत पुग्ने छ । अपर कर्णाली, दुधकोशी, माथिल्लो तामाकोशी ५ जस्ता आयोजनाले मुलुकको आर्थिक तथा सामाजिक विकासलाई गति दिने उनले बताए ।

आफूले ६० लाख रुपैयाँ भत्ता लिएको भन्ने समाचारको घिसिङले खण्डन गरे । प्राधिकरणलाई कमजोर बनाउन खोज्ने तत्वहरुले विभिन्न आरोप लगाएको तर आफूले ६ रुपैयाँ मात्र भत्ता लिएको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here