अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको झण्डा सगरमाथा चुचुरोमा फहराइदै

काठमाडौं, २६ चैत । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को झण्डा सगरमाथा चुचुरोमा लगिने भएको छ ।

आइकाओ संसारभरका हवाई उडान सम्बन्धी हरेक गतिविधिको नियमन गर्ने अन्तराष्ट्रिय निकाय हो । यस निकायले सन् २०१९ मा स्थापनाको ७५ औं वर्ष विविध कार्यक्रम गरी मनाइरहेको छ ।

यसै सन्दर्भमा सगरमाथा आरोहणको चालु सिजनमै आइकाओको झण्डा सगरमाथा चुचुरोमा लैजाने तयारी छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आइकाओको झण्डा सगरमाथा चुचुरोमा लैजाने सम्बन्धमा तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्वीकृती मागेको छ । अहिले पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयमः प्रधानमन्त्री केपी शर्मा ओलीसँग छ ।

मन्त्रालयले आइकाओको झण्डा सगरमाथामा फहराउने सम्बन्धी प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

आइकाओको झण्डा सगरमाथा चुचुरोमा लैजादा यसले एकातर्फ विश्वभर नेपाली पर्यटनको प्रचार हुने र अर्कोतर्फ आइकाओले पनि नेपाललाई अझ नजिकबाट हेर्ने विश्वास प्राधिकरणको छ ।

आइकाओ संयुक्त राष्ट्रसंघ मातहतको एक शक्तिशाली निकाय हो । यसको स्थापना सन् १९४४ मा भएको थियो । आइकाओमा संसारभरका १९२ मुलुक सदस्य छन् । नेपालले सन् १९६० मा यस संगठनको सदस्यता ग्रहण गरेको थियो ।

चालु सिजनको आरोहण अब शुरु हुने क्रममा छ । अहिले पर्वतारोहीहरु पर्यटन विभागबाट धमाधम आरोहण अनुमति लिने क्रममा छन् । सगरमाथामा शरद ऋतुमा सर्वाधिक पर्यटक आरोहण गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here