नेपालमा निर्धक्क भएर लगानी गर्न फ्रान्सेली उद्यमीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं २६ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक सम्पुर्ण सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।

नेपाली र फ्रान्सका उद्यमी व्यवसायीहरु बीच नेपालमा संयुक्त सहकार्यका लागि भएको छलफलमा अर्थमन्त्रीले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको ‘बिजनेश म्याचिङ’ बैठकमा अर्थमन्त्री खतिवडाले सरकारले लगानीकर्तालाई आवश्यक सबै सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भर्खरै सम्पन्न भएको लगानी सम्मेलन सफल भएको भन्दै नेपालमा लगानीको ठूलो सम्भाव्यता भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग तथा वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल पर्यटन सम्भाव्यता बोकेको राष्ट्र भएका कुरा बताइन् । साथै, नेपाल ‘भर्जिन ल्याण्ड’ भएको र नेपालमा लगानी गर्ने विदेशी कम्पनीलाई महासंघले पुर्ण साथ दिने पनि उनले बताइन् ।

कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत फ्रानकोइस जेभिएर लेगारले दुइ देशबीचको व्यवसायिक सहकार्यलाई परिणामदायी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाए । साथै, अहिले नेपालमा पुर्ण लगानीमैत्री वातावरण रहेको कुरा पनि उनले व्यक्त गरे ।

व्यवसायिक भेटर्वातामा फ्रान्स र भारतका गरि १५ वटा प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उनीहरुले उर्जा, स्मार्ट र दिगो सहरिकरण, फोहोर व्यवस्थापन, सडक जस्ता क्षेत्रहरुमा लगानी गर्न इच्छुक रहेको सम्भाव्यता प्रस्तुत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here