ललिता निवासको जग्गामा दलालले फसाएः पन्त, १० अर्बको लगानी छिट्टै आउँदै

काठमाडौं, २४ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मुख्यालय बनाएको ललिता निवासको जग्गामा संघलाई दलालले फसाएको अध्यक्ष कुमार पन्तले बताएका छन् ।

संघले सचिवालय बनाउन जग्गा खोजिरहेका बेला बालुवाटारस्थित जग्गाको प्रस्ताव आएको बताउँदै उनले संघको त्यसमा कुनै बदनियत नरहेको बताए । यद्यपि उनले दलाल को थियो भन्ने बारे खुलाएनन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत आएका पन्तले अल्डरशटमा बिहीवार साँझ आयोजित समारोहमा बोल्दै गैरआवासीय नेपालीहरुको सकृयतामा छिट्टै रु. १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताए ।

यसै वर्ष सम्पन्न एनआरएनएको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए पछि उनले विश्वभरका गैरआवासीय नेपालीबाट १० अर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने योजना सार्वजनिक गरेका थिए ।

उनले भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । पन्तले विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवसीय नेपाली नागरिकता बन्ने निश्चित भएको पनि बताए ।

अहिले गैरआवासीय नेपालीसम्बन्धी नागरिकताको बिषय संसदीय समितिमा छ त्यो अनुमोदन भएपछि नागरिकता पाउने निश्चित छ, पन्तले भने ।

संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ अब स्मार्ट एनआरएनको रुपमा विस्तार गरिने बताए । उनले संघभित्र आर्थिक, भौतिक तथा संगठनात्मक सुधारका कामको थालनी गरिएको पनि जानकारी दिए ।

गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले एनआरएनलाई राम्रो बनाउने प्रयत्न गर्ने तथा समुदायका सबै पक्षसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here