काठमाडौं २८, चैत । नयाँ वर्षमा बैंक खाता खोल्ने ग्राहकले बैंकको तर्फबाट थप एक सय रुपैयाँ पाउने भएका छन् । ग्राहकलाई नयाँ खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता एक सय रुपैयाँ हालिदिने भएका हुन ।
यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यो कार्यक्रम ०७६ वैशाख १ देखि लागु हुनेछ ।
सरकारको ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले प्रतिखाता एक सय रुपैयाँ खर्च गर्न लागेका हुन ।
संस्थागत खातामा भने यो व्यवस्था लागु हुने छैन । बचत खाताको ब्याजदर बैंक अनुसार फरक फरक हुनेछ ।
नेपाल बैंकर्स संघले पनि नयाँ वर्षभरी हरेक नयाँ बचत खातामा एक सय रुपैयाँ जम्मा गरिदिने निर्णय गरेको छ । उक्त रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउँछन् ।
नयाँ खाता खोल्दा ग्राहकले यसअघि कुनै बैंक तथा वित्तीय संस्थामा खाता नभएको पुष्टी गर्नु पर्ने छ । यसअघि बैंक खाता खोलिसकेका ग्राहकले यो सुविधा पाउने छैनन ।
यो कार्यक्रम बैंकिङ पहुँचको बाहिर रहेका ग्राहक लक्ष्यित भएकाले यसअघि खाता खोलिसकेका ग्राहकले सुविधा नपाउने राष्ट्र बैंकले बताएको छ ।
यो कार्यक्रम अनुसार खुलेका खातामा ग्राहकको पुर्व विवरणमा केही खुकुलो बनाइएको छ । नयाँ खाताबाट वार्षिक एक लाख रुपैयाँ सम्मको मात्र कारोबार गर्न पाइनेछ ।
कुनै ग्राहकले वार्षिक १ लाख रुपैयाँ भन्दा धेरैको कारोबार गरेमा पुर्ण रुपमा ग्राहक विवरण बुझाउनु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।
राष्ट्र बैंकले गत वर्ष प्रति २ हजार ५ सय नयाँ खाता खोल्ने बैंक तथा वित्तीय संस्थालाई एक वर्षका लागि निर्ब्याजी १ करोड रुपैयाँ सापटी दिने घोषणा गरेको थियो । तर, गत आर्थिक वर्षको यो कार्यक्रम अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले २५ सय नयाँ खाता खोल्न नसकेका राष्ट्र बैंकले जनाएको छ ।