तरकारीमा परनिर्भरता बढ्दै, सात महिनामा १८ अर्बको आयात

काठमाडौं, ३ चैत । कृषिप्रधान देश नेपालमा दैनिक प्रयोग हुने तरकारी आयात वर्षेनी बढ्दो क्रममा रहेको छ ।

तथ्याङ्क विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनाको (साउन-माघ) अवधिमा १८ अर्ब ५ करोड २२ लाख १३ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो ।

यस अविधिमा आलु, प्याज, टमाटर, लसुन, च्याउलगायत अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब २ करोड ५९ लाख ५९ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको थियो ।

गत आवको सोही ७ महिनाको तुलनामा चालू आवमा तरकारीको अयातमा ६ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो । महिनामा करिब २ अर्ब २७ करोड रुपैयाँ बराबरको लसुन, प्याज तथा टमाटर आयात भएको छ ।

सो अवधिमा करिब १ अर्ब ७६ करोड रुपैयाँको प्याज आयात भएको तथ्यांकले देखाएको छ । सो अवधिमा ४ करोड ५१ लाख केजी प्याज आयात भएको छ । यस्तै ३३ करोड ४६ लाख रुपैयाँ बराबरको गोलभेँडा आयात भएको छ ।

सो मूल्यमा २ करोड ९२ लाख केजी गोलभेडा आयात भएको हो । विभागको तथ्यांक अनुसार सो अवधिमा १८ करोड ११ लाख रुपैयाँको लसुन आयात भएको छ । सो मूलयमा १७ लाख ९० हजार लसुन आयात भएको हो ।

पछिल्लो समय खेतीयोग्य जमिन घरघडेरीमा प्रयोजन हुन थालेपछि तरकारी उत्पादन कमी हुने गरेको छ । मुलुकमा भित्रिने रेमिट्यान्सको प्रभावले परनिर्भरता बढ्दै गएको कृषि विज्ञको भनाइ छ ।

कृषिमा पर्याप्त अनुदान नहुनु, आधुनिक कृषि प्रविधिको प्रयोग गर्न नसक्नु र किसानलाई पर्याप्त तालिम दिन नसक्दा नेपाली किसानले मागअनुसार तरकारीको उत्पादन गर्न सकेका छैनन् ।

त्यस्तै सिजनमा धेरै तरकारी उत्पादन भए पनि कोल्डस्टोरको अभावले गर्दा भण्डारण गरेर राख्न नसक्ने समस्या किसानले खेप्नुपरेको व्यवसायीहरू बताउँछन् ।

कृषक तथा व्यापारीले तरकारी कुहिने डरले उत्पादन हुनासाथ बिक्री गरिहाल्नुपर्ने बाध्यता छ । मुलुकमा करोडौंको तरकारी बाहिरबाट आयात भइरहँदा पहाडी जिल्लामा उत्पादित तरकारीको उपयोग हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here