अत्यावश्यक बैंकिङ सेवा खुल्दै, ठूला पसललाई खाद्यवस्तु डेलिभरी गर्न आग्रह

काठमाडौं, १२ चैत । सरकारले अतिआवश्यक बैंकिङ सेवा खुला गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने निर्णय गरेको हो ।
खासगरी मालसामान आयातका लागि व्यापारीहरुले एलसी (प्रतितपत्र) खोल्न नपाउँदा आयातमा समस्या परेको छ ।

सरकारले चीनतर्फका नाका पनि खुला गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने कार्यमा पहल गर्नेछन् ।
यससम्बन्धी आवश्यक समन्वयका लागि गृह र अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

त्यसैगरी, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय पनि समितिले गरेको छ। यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न भने पाउने छैनन् ।

औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ । त्यस्ता सवारी साधन सञ्चालन गर्न गृह मन्त्रालयबाट अनुमति लिनु पर्ने छ ।

समितिले ठूला खाद्य स्टोर तथा पसलहरूलाई आवश्यक खाद्यवस्तुहरूको होम डेलिभरी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने पनि बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here