‘लक डाउन’मा हरेक दिन यसरी हेर्नुहोस् घरमै बसेर नाटक

काठमाडौं, १३ चैत विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् ।

‘लक डाउन’को गम्भीर समयलाई मध्यनजर गर्दै रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन नाटक महोत्सव गरेको आयोजकले जनाएको छ ।

महोत्सवको हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ । घरमै बसेर नाटक हेर्न सकिनेछ ।

हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट एउटा नाटक हेर्न पाईनेछ । नाटकको समयावधि १ घण्टादेखि २ घण्टासम्मको हुनेछ ।

महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ ।

विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चकै दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ । महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सब स्लोगन ‘फाइभ पिएम, इट्स थिएटर टाइम’ रहनेछ ।

लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here