एनएमबीको एक सयको खातामा १० लाखको निःशुल्क बीमा

काठमाडौं, २ बैसाख । एनएमबी बैंकले १० लाख रुपैयाँको बीमा सहितको बैंक खाताको योजना ल्याएको छ ।

सरकारले आइतबार घोषणा गरेको ‘खोलौं बैंक खाता’ अभियानपछि यस्तो घोषणा गर्ने एनएमबी पहिलो बैंक बनेको छ ।

‘एनएमबी सबैको सहारा बचत खाता’ नाम दिइएको सो प्रडक्टले नयाँ खातामा सरकारले घोषणा गरेको १ सय रुपैयाँ जम्मा गरिदिने छ भने प्रत्येक ग्राहकको अग्रीम बीमा सुरक्षण गरिने छ ।

बीमा सुरक्षण अन्तर्गत खातावालको दुर्घटना मृत्युवा दुर्घटनाका कारण स्थायीरुपमा अंगभंग भएमा वा क्यान्सर, किड्नी निष्कृयता, लिभरको रोग, मष्तिस्कघात, ह्रदयाघात, प्यारालाइसिस जस्ता १८ प्रकारका गम्भीर रोगहरुमध्ये कुनै एउटा रोग लागेको अवस्थामा खातावाल वा उसको नजिकको हकवालालाई १० लाख रुपैयाँको बीमा रकम उपलब्ध गराउने बैंकले बताएको छ ।

त्यसका साथै सो खातामा सर्वाधिक ब्याजदर ६.५ प्रतिशत, निःशुल्क डिम्याट खाता, मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङ तथा डिलाइट एटीएमजस्ता सुविधा समेत रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।

उनका अनुसार यस्तो सुविधा पाउनका लागि खाता खोल्ने व्यक्तिको अरु कुनै बैंकमा खाता हुनु हुँदैन ।

हामीले बैंकिङ पहुँचबाट वञ्चित निम्न वर्गका जनतालाई लक्षित गरेर यो नयाँ प्रडक्ट ल्याएका हौं, केसीले भने ।

एनएमबी सन् २०१७ र २०१८ मा लगातार बैंक अफ दि इयर अवार्डबाट सम्मानित बैंक हो भने ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको नेपालको एकमात्र सदस्य बैंक हो ।

हाल बैंकका ११० शाखा, ४ एक्सटेन्सन काउण्टर र ९९ एटीएम सञ्चालनमा छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here