नेपाली धागो आयातमा बंंगलादेशले रुची देखायो

काठमाडौं, २ बैसाख । बंगलादेशले नेपाली धागो आयातमा रुची देखाएको छ ।

नेपालका लागि बंगलादेशी राजदूत मासफी बिन्ते शाम्सले सोमबार नेपाल उद्योग परिसंघसँगको भेटमा आफ्नो मुलुक नेपालबाट धागो आयात गर्न इच्छुक रहेको र त्यसको प्रक्रिया मिलाउन काठमाडौंस्थित बंगलादेशी दूताबासले पहल गर्ने बताइन् ।

चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांक अनुसार नेपालको सबैभन्दा ठूलो निर्यात धागो रहेको छ । सो अवधिमा नेपालले साढे ५ अर्ब रुपैयाँ बराबरको धागो निर्यात गरेको छ जुन समग्र निर्यातको १०.४ प्रतिशत हो । गत वर्ष सोही अवधिमा नेपालले साढे ४ अर्ब रुपैयाँको धागो निर्यात गरेको थियो ।

हालसम्म टर्की नेपाली धागोको सबैभन्दा ठूलो बजार हो ।

दुवै देशवीच सौविध्यपूर्ण व्यापार सम्झौता गर्ने सन्दर्भमा दुवै मुलुक सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेश भइसकेकोले चाँडै त्यसमा निर्णय हुने आफ्नो विश्वास रहेको पनि शाम्सको भनाइ थियो ।
उनका अनुसार बंगलादेश नेपाली उत्पादनको सहुलियतपूर्ण प्रवेशका लागि सकारात्मक छ ।

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले बंगलादेश र नेपालवीच अपेक्षित मात्रामा व्यापार विस्तार हुन नसकेको र दुवै मुलुुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने धारणा व्यक्त गरे ।

फुलबारी–बङ्गलाबन्द मार्गको बढी प्रयोग भएमा नेपाली माल वस्तुको सहज र सरल पहुँच हुने उले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here