कोरोनाबाट भारतमा एकैदिन ४८ जनाको मृत्यु, संक्रमितको संख्या ६ हजार ७ सय पुग्यो

काठमाडौं, २८ चैत । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका संक्रमित र संक्रमणबाट मर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। बिहीबार मात्र भारतमा कोरोना भाइरस संक्रमणका कारण ४८ जनाको मृत्यु भयो भने ८ सय ९ जना नयाँ संक्रमित थपिएका थिए। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ७ सय २५ पुगेको छ।

अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् । यो सँगै भारतमा हालसम्म २ सय २७ को मृत्युको कारण कोरोना भाइरस संक्रमण बनेको छ।

बिहीबार एकैदिन मात्र भारतमा ४८ जनाको मृत्यु कोरोना भाइरसको कारण भएको छ। बुधबार यो संख्या मात्र १८ थियो।

मंगलबार भारतमा २४ जनाको मृत्यु कोरोनाबाट भएको थियो। पछिल्ला १० दिनमा भारतमा कोरोना भाइरसको संक्रमित र मृत्यु हुनेको संख्या तिव्ररुपमा वृद्धि भइरहेको छ। त्यसमध्ये महाराष्ट्र सबैभन्दा प्रभावित बनेको छ ।

महाराष्ट्रमा अहिलेसम्म यो एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन् । साथै ९८ जनाको मृत्यु पनि भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म आठ सय २४ जना मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन् ।

तामिलनाडुमा भाइरसबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । दिल्लीमा सात सय २० संक्रमित फेला परेका छन् भने तेलंगानामा संक्रमितको संख्या चार सय ७१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here