प्रविधिको विकाससँगै सेवा परिवर्तन गरिरहन टेलिकमलाई चुनौती !

-जितेन्द्र खनाल

काठमाडौं, ३ वैशाख । दुरसञ्चार प्रदायक संस्था नेपाल टेलिकमले सूचना र प्रविधिको क्षेत्रमा हुने नयाँ नयाँ विकास र आविष्कार सँगै अपडेट भएर गुणस्तरीय सेवा दिन धेरै नै चुनौतीपूर्ण बताएको छ ।

टेलिकमको सेवा सुविधालाई परिवर्तन गर्दा उपकरणहरु पनि फेर्नु पर्ने भएकाले नयाँ प्रविधिमा आधारित सेवा र सुविधा तत्काल प्रदान गर्न अत्यन्त कठिन हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले क्लाउडपत्रिकालाई बताइन् ।

‘हामीले अहिले देशभर फोरजी सञ्चालनको लागि काम गरिरहेका छौं तर, प्रविधि यति छिटो विकास भइसक्यो कि कतिपय कम्पनीहरुले फाइभजी को कुरा पनि गरिरहेका छन्’ उनले भनिन्, ‘यस्तो समयमा टेलिकमले नयाँ प्रविधियुक्त सेवाहरु प्रदान त गरिरहेको छ तर, यो गुणस्तरीय सेवा दिने काम अत्यन्त चुनौतीपुर्ण छ ।’

घरको छतमा टावर राख्न समस्या

विस २०७२ साल बैशाख १२ गतेको शक्तिशाली भूकम्पपछिको शहरी क्षेत्रका केहि घरहरुमा टेलिकमको टावरहरु राख्न नदिएकाले पनि आफूहरुलाई अप्ठेरो परेको उनले बताइन् ।

नेपाल टेलिकमको सेवा गुणस्तरीय नभएको भनेर धेरै प्रयोगकर्ताको गुनासो छ नी भन्ने जिज्ञासामा उनले भनिन्, ‘हामी हाम्रो सेवालाई गुणस्तरीय बनाउन लागिपरेका छौं तैपनि कुनै सेवाहरुमा समस्या भए नहिच्किचाई हाम्रो निशुल्क नम्बर १४९८ मा फोन गरेर गुनासो गर्न म सबै ग्राहकवर्गलाई आग्रह गर्छु ।’

नेपाल टेलिकमको भ्वाईस प्याक, म्यासेज प्याकहरु साथै अनलिमिटेड डाटा प्याक जस्ता सेवाहरु प्रयोग गर्ने क्रममा कुनैपनि प्रकारको समस्याहरु आएमा सेवाग्राहीहरुले टेलिकमको निःशुल्क नम्बर १४९८ मा फोन गरेर त्यसबारेमा जानकारि लिन सक्छन् ।

यस्तै सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट पनि प्रयोगकर्ताको गुनासो सम्बोधन गर्न थालिएको टेलिकमले बताएको छ ।

प्रविधिको विकाससँगै प्रयोगकर्ताहरुको सेवा सुविधाहरुलाई ध्यानमा राखी नेपाल टेलिकमले बजारमा उपलब्ध भएपछि फाइभ जीको सेवा सुरु गर्ने नेपाल टेलिकमका् योजना रहेको पनि प्रवक्ता वैद्यले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here