कोरोना उपचार कोषमा आइक्यानको १ करोड, लेखा व्यवसायमा परेको असर अध्ययन गरिंदै

sdr

काठमाडौं, २ बैशाख । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ ।

आइक्यानको परिषदले चैत ३० गते कोषमा सो रकम सहयोग गर्ने निर्णय गरेको र सो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बैदेशिक भ्रमण सहित नियन्त्रण गर्न सकिने अन्य खर्चहरु कटौति गर्ने समेत निर्णय गरेको छ ।

यसैगरी कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकोले सो को रणनीति तयार गर्ने उद्देश्यसहित अध्ययन गर्न लागिएको आचार्यले बताए ।

लेखा व्यवसाय र लेखा तथा लेखापरीक्षणमान कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ ।

यस्तै अनलाइन लर्निङ्ग प्लेटफर्म तयार गरी भर्चुअल तालिमका साथै विद्यार्थीका निमित्त भर्चुअल कक्षाको व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।

भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा संचालन गर्न सक्ने गरी व्यवस्थापन गर्ने आइक्यानको तयारी रहेको छ ।

संस्थाले विदेशी लेखा व्यवसायी संस्थासंग सहकार्य गरेर सदस्यलाई भर्चुअल तालिम र सो का आधारमा सदस्यले अनिवार्य रुपमा लिनु पर्ने अनवरत व्यावसायिक शिक्षा वापतको सीपीई आवर प्रदान गर्ने समेत निर्णय गरेको उहाँले बताउनुभयो ।

आइक्यानले कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीहरुलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्ति बाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here