पछिल्लो २४ घण्टामा २९ सयको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन्

काठमाडौं, ३ बैशाख । पछिल्लो २४ घण्टामा दुई हजार ८९४ जनाको परीक्षण गरिएको छ ।

थप कोरोना संक्रमित बिरामी भने फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको जानकारी दिएका हुन्।

तर विभिन्न जिल्लामा भएको र्‍यापिड टेस्टमा भने पोजेटिभ देखिएको छ। पीसीआर परीक्षण नगरी कोरोना संक्रमण भएको भन्न नमिल्ने देवकोटाले बताए।

अहिलेसम्म पीसीआर र र्‍यापिड टेस्ट गरेर १५ हजार ८ वटा जनाको परीक्षण गरिएको छ।

संक्रमण फैलिने सम्भावना भएपछि अहिले १४ वटा जिल्लाबाहेक अन्य सबैमा र्‍यापिड टेष्ट गरिरहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रदेश नम्बर १ का सातवटा, प्रदेश २ का ३, गण्डकीमा १, प्रदेश ५ मा १ जिल्लामा परीक्षणा भएको छैन। यस्तै कर्णालीका २ जिल्लामा पनि र्‍यापिड टेस्ट हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ।

देशभर अहिले ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आइसोलेसनमा १ सय १७ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । कोरोनाबारे गुनासो व्यक्त गर्न स्थापना गरिएको कल सेन्टरमा २ हजार ६ सयभन्दा धेरैको गुनासो सम्बोधन गरिएको छ ।

त्यसैगरी मोबाइल एप्स र वेवसाइटबाट पनि स्वास्थ्य परीक्षणको स्वः मूल्याङ्कन गर्नेको संख्या १७ हजार ६ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना रेड जोनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।