शुरु भयो विद्यार्थी भर्ना अभियान, के के छन् कार्यक्रम ?

काठमाडौं, ४ बैशाख । नयाँ शैक्षिक सत्र शुरु भएसँगै बैशाख २ गतेबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस वर्ष ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔं’ भन्ने नारा चयन गरी विद्यार्थी भर्ना अभियान संचलन गरिदैछ ।

यसमा खासगरी स्थानीय तहलाई परिचालन गर्ने लक्ष्य लिइएको मन्त्रालयले जानकारी दिएको छ । यसक्रममा स्थानीय तहले वेवसाइटमा नारा राख्नेदेखि स्थानीय स्तरमा विद्यार्थी भर्ना अभियान संचालनसमेत गर्न थालेका छन् ।

मन्त्रालयले स्थानीय तहबाट विवरण संकलन, विद्यालयबाट बाहिर रहेका विद्यार्थीलाई विद्यालयसम्म पुर्याउन गर्नुपर्ने काम, समन्वय तथा सहकार्य गर्न आग्रह गरेको छ ।

सोही अनुसार स्थानीय तहले विद्यालय बाहिर रहेका हरेक समूहका बालबालिकाको विवरण तयार पारी उनीहरुलाई विद्यालय भर्ना गर्ने र निरन्तर टिकाइ राख्ने कार्य योजना तथा कार्यान्वयनको खाका बनाउनेछन् ।

जिल्लाको औसत खुद भर्ना दरभन्दा कम रहेका स्थानीय तह, वडा, पिछडिएको क्षेत्र अन्तर्गत खास बस्ती पहिचान गरी सरोकारवाला सबैको समन्वय र सहकार्यमा सघन कार्यक्रम संचालन गर्ने योजना बनाइएको छ ।

बैशाख १५ सम्म हरेक स्थानीय तहले विद्यालय र समुदाय केन्द्रित विभिन्न कार्यक्र संचालन गर्नेछन् । १५ बैशाखपछि भने लक्षित समूह कन्द्रित गरी विशेष घरदैलो अभियान संचालनको योजना मन्त्रालयले बनाएको छ ।

स्थानीय तहले स्थानीय रेडियो, एफएम, पत्रपत्रिकामा विद्यालय भनाई अभियानसम्बन्धी सार्वजनिक सन्देश भनाई अभियानसम्बन्धी गीत, लेख रचना विभिन्न स्थानीय भाषामा समेत प्रकाशन प्रसारण गर्नेछन् ।

सामुदायीक विद्यालयमा भर्ना हुने सबै विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराउने र १ कक्षादेखि ५ सम्म रंगिन पाठ्यपुस्तक वितरणको प्रभावकारी कार्ययोजना बनाएर कार्यान्वयन गर्ने जिम्मा पनि स्थानीय तहले पाएका छन् ।

चार वर्ष उमेर पुगेका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा कक्षामा भर्ना गराउने साथै विद्यालय शिक्षा तथा निरन्तर सिकाईको अवसर प्राप्त नगरेका विद्यालय उमेर समुह भन्दा बढी उमेर भएका प्रत्येक व्यक्तिलाई नियमित वा वैकल्पिक सिकाईको अवसर प्रदानको व्यवस्था मिलाउने समेत मन्त्रालयको योजना छ ।

विशेष आवश्यकता भएका सबै किसिमका बालबालिकालाई उमेर अनुसार मिल्दो सिकाइ स्थलमा निशुल्क भर्नाकाे व्यवस्था मिलाउन समेत मन्त्रालयले स्थानीय तहसँग आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here