भोलिदेखि नेपालको आफ्नै स्याटेलाइट

काठमाडौं, ४ बैसाख । बिहीवार बिहान नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण हुने भएको छ ।

यसले नेपालको अन्तरिक्ष इतिहासमा एक नयाँ इतिहास कोर्ने छ किनकि नेपालले पहिलोपटक राष्ट्रिय ध्वजाअंकित आफ्नै स्याटेलाईट अन्तरिक्षमा पठाउन लागेको हो ।

जापानमा नेपाली बैज्ञानिकले निर्माण गरेको सो न्यानो स्याटेलाइट बिहीबार बिहान २ बजे अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइंदै छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को पहलमा करीब १ किलो ३ सय ग्रामको सो नानो स्याटेलाइट संयुक्त राष्ट्र संघको सहकार्यमा जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजीमा बर्डस् परियोजनाअन्तर्गत विकास गरिएको हो । नेपाली

वैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठले सो स्याटेलाइट तयार गरेका हुन् ।
स्याटेलाइटलाई नेपालीस्याट १ नाम दिइएको छ ।

बिहीवार बिहान अन्तरिक्षमा पठाइने सो स्याटेलाइट करीब एक महिना अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने छ । एक महिनाको परीक्षणपछि मात्र त्यसलाई पृथ्वीको कक्षमा स्थापना गरिने छ । प्रक्षेपण गरेको करीब ५० मिनेटमा नेपालस्याट अन्तरिक्ष केन्द्रमा पुग्ने नाष्टको प्रविधि विभागका प्रमुख वैज्ञानिक डा. रविन्द्रप्रसाद ढकालले बताए ।

उनका अनुसार सो स्याटेलाइटबाट जलवायु परिवर्तनसम्बन्धी अध्ययन तथा शहरी विकास योजनाको तयारीजस्ता कार्यमा सहयोग पुग्ने छ । रिमोट सेन्सिङ सुविधा भएकाले त्यसले विपद पूर्व सूचनामा पनि सघाउने छ ।

नेपालीस्याटले पठाउने सूचनाको अनुगमन तथा संकलन गर्नका लागि नास्टले आफ्नै परिसरमा ग्राउण्ड स्टेशन पनि निर्माण गरिरहेको छ ।

नेपालसँगै जापान र श्रीलंकाले पनि सोही आकारका स्याटेलाइट भोलि बिहान अन्तरिक्षमा पठाउँदैछन् ।

डा. ढकालका अनुसार यो परियोजनाले नाष्टको क्षमता विकास गर्ने छ भने भविष्यमा नेपालका अझ ठूला र परिष्कृत स्याटेलाइट निर्माण गर्न प्रोत्साहन मिल्ने छ ।

अन्य कुरा जे भए पनि यो सँगै नेपालले अन्तरिक्षमा आफ्नो उपस्थिति भने देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here