काठमाडौं, ६ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के मस्जिद आसपासको बस्तीलाई स्थानीय प्रशासनले शुक्रबार रातिदेखि सुरक्षा घेरामा राखेको छ।
मस्जिदमा रहेका १६ जना मध्ये १२ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि बस्तीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेको हो ।
संक्रमितहरु भारतबाट आएपछि बस्तीमा प्रवेश गरी ‘जाँड, रक्सी सेवन गर्न हुँदैन, धर्मप्रतिको विश्वासलाई जीवन्त राख्नुपर्छ’ जस्ता उपदेशहरु दिँदै हिडेको स्थानीयले बताएका छन् ।
उनीहरु गाउँभरि हिडेकाले थप व्यक्तिलाई पनि संक्रमण भएको हुनसक्ने अनुमानले बस्तीलाई सुरक्षा घेरामा राखेको प्रहरीले जनाएको छ ।
नयाँ दिल्लीबाट जोगबनी नाका हुँदै उनीहरु जनवारीमा नेपाल प्रवेश गरेका थिए। जोगबनी नाका हुँदै उनीहरु मोरङ, सुनसरी र सप्तरीका विभिन्न मस्जिदमा बसेर चैत ७ गते उदयपुर प्रवेश गरेको स्थानीय प्रशासनले जनाएको छ।
भुल्के आउनु अगाडि उनीहरु उदयपुरकै चौदण्डी नगरपालिकामा रहेको मस्जिदमा बसेका थिए।
मस्जिदमा भारतीय रहेको सूचना चैत १२ गते नै सुरक्षाकर्मीले आएर क्वारेन्टाइनमा बस्नको लागि गरिएको आग्रह नमानेपछि सुरक्षा निगारानीमा उनीहरुलाई मस्जिदमै राखिएको थियो ।
लकडाउन हुनेवित्तिकै मस्जिदहरुमा सर्च गर्दा भारतीय नागरिक फेला परेपछि कोरोना परीक्षण गरिदिन जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारलाई अनुरोध गरिएको २२ दिन पछि परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको स्थानियको आरोप छ । मस्जिद टोलमा ५० भन्दा बढी घर छन्।
प्रहरीका अनुसार गएको फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी भएका उनीहरु राजविराज हुँदै उदयपुर आइपुगेका थिए ।
उनीहरु उदयपुरका दुई वटा मस्जिदमा पुगेका थिए । उनीहरु चौदण्डीगढी नगरपालिका ५ शिवाईको मस्जिदमा पुगेर शिक्षा दिँदै लकडाउनको समयमा त्रियुगा नगरपालिका ३ भुल्केका मस्जिदमा आईपुगेका थिए ।