८ महिनामा २९ अर्ब ६२ करोडको धितोपत्र निष्काशन अनुमति

काठमाडौं, ९ बैशाख । पछिल्लो ८ महिनामा धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा २४.७ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० करोड रुपैयाँ रहेको बजार पुँजीकरण फागुन मसान्तमा १७ खर्ब ६० अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।

फागुन अन्त्यसम्ममा सूचीकृत सेयरको चुक्ता मूल्य ४ खर्ब ५९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । सो अवधिमा ४ अर्ब ६९ करोड संख्याको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २९ अर्ब ६२ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति भएको छ ।

सो अवधिमा २१ अर्ब ४५ करोडको डिबेन्चर, ४ अर्ब ४१ करोडको हकप्रद सेयर, २ अर्ब ७५ करोडको साधारण सेयर र एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्डको लागि बोर्डले अनुमति दिएको हो ।

त्यस्तै गत फागुन मसान्तसम्ममा कूल २१२ कम्पनी सूचीकृत रहेका छन् । जुन गत असारमा २१५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये १४८ बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्। २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो ।

सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरण हिस्सा ८०.९ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा ५.३ प्रतिशत, उप्तादन तथा प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटलको १.२, व्यापारिक संस्थाको ०.३ र अन्य समूहका कम्पनीको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here