भोजपुरका संक्रमित युवा सुनसरी-उदयपुरमा एक साताको बसाईपछि घर

काठमाडौं, ११ बैशाख । उदयपुरसँग सिमाना जोडिएको भोजपुरमा पनि कोरोना भाइरसका एकजना संक्रमित भेटिएका छन्।

भोजपुरको हतुवागढी गाउँपालिकाका एकजना २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

गत फागुन ३० मा साउदी अरबबाट आएका भोजपुरका ती युवकमा धेरै ठाँउमा घुलमिल हुँदै घर पुगेको खुल्न आएको छ । मंगलबार विदेशबाट आएका ११ जनामा र्‍यापिड टेस्ट गर्दा युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थियो।

‘लगातार दोस्रो परीक्षण गर्दा पनि पोजेटिभ देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो। जहाँ उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

संक्रमित युवकको परिवारमा १० जना सदस्य रहेको भएपनि परिक्षण भने गर्न बाँकी नै रहेको स्रोतले जनाएको छ । भलिबल खेलाडी समेत रहेको उनी गाउँमा भलिबल खेलेका र मलामीमा पनि सहभागी भएकास्रोतले जनाएको छ ।

विदेशबाट काठमाडौं उत्रिएपछि उनी सुनसरीको इटहरी र धरानस्थित नातेदारकहाँ बस्दै श्रीमती र बच्चा भएको ठाउँ चतरा पुगेका थिए।

त्यसपछि उनी चैत ८ गते उदयपुरको मैनामैनीस्थित ससुराली पनि गएका थिए।

ससुरालीमा केही दिन बसेर चैतको दोस्रो साता साथीको मोटरसाइकलमा बसेर भोजपुर, हतुवागढी घर पुगेको खुल्न आएको स्रोतको दाबी छ । अहिले संक्रमित युवकलाई हतुवागढी-१ को घोरेटारस्थित आइसोलेसनमा राखिएको छ।

संक्रमित युवकको सम्पर्कमा आएकाहरूको खोजी सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here