तनहुँमा एकै परिवारका तीन जना मृत भेटिए

संकेतिक तस्विर

काठमाडौं, १३ बैशाख । तनहुँको व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।

अपांगता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठ शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपांगता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएपछि यतिबेला गाउँ शोकमा डुबेको छ।

मृतक विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको थियो।

विपीन मृत भेटिनुभन्दा दुई दिनअघि (वैशाख १० गते) देखि नै उनका आमा र बहिनी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तले प्रहरीमा जाहेरी दिएका थिए।

छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुन सक्ने प्रहरीले आशंका गरे पनि शनिबार आमाछोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ।

एकै परिवारका तीन जनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले जानकारी दिए।

मृतक रवीनाका श्रीमान् हरिकृष्ण भारतीय प्रहरीबाट अवकाशपछि भारतमा नै काम गर्दै आएका छन्। यहाँ भएको घटनाबारे दाजुलाई जानकारी गराइसकिएको उनका भाइ मोहनकृष्णले बताए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here