‘टिकट लिएका भीभीआइपी/भीआइपी एयरपोर्टमै बसिदिनुस, नत्र जहाज छुट्न सक्छ’

काठमाडौं, ५ बैशाख । वायुसेवा संचालकहरुले जहाजको टिकट काटिसकेका भीभीआइपी\भीआइपी तथा आम सर्वसाधारण यात्रुलाई विमानस्थल छाडेर बाहिर नजान अनुरोध गरेका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भइरहेको धावनमार्ग मर्मतले उडान कटौती तथा समयको सिमितताका कारण उद्द हुने सम्भावना धेरै हुने भएकाले विमानस्थल छाडेर बाहिर नजान वायुसेवा संचालक संघले अनुरोध गरेको हो ।

बैशाख २ मा भैरहवा विमानस्थलबाट काठमाडौं आउने क्रममा सञ्चारमन्त्री गोकुल बास्कोटा उड्ने तय भएको बुद्ध एयरको जहाज छुटेपछि यो विषय अहिले चर्चामा छ । सञ्चारमन्त्री होटेलबाट आउन ढिला गरेपछि बुद्धले उनलाई नपर्खी जहाज उडेको थियो । यस सम्बन्धमा बुद्धले समेत स्पष्टिकरण दिइसकेको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतका क्रममा तीन महिनासम्म दैनिक १० घण्टा विमानस्थलको सबै सेवा बन्द हुन्छ । राती १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक विमानस्थल बन्द हुन्छ । यस अवधिमा करीव २० प्रतिशत आन्तरिक उडान कटौती भइसकको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए ।

छोटो अवधिमा सबै आन्तरिक विमानस्थलमा काठमाडौंबाट उडान गर्नुपर्ने बाध्यताले उडान समयमै गर्नुको विकल्प नरहेको उनको भनाई छ । मौसम या अन्य कारणले बेलैमा जहाज उड्न नसके डीले उडान हुन नसकि रद्द नै हुने र यसले धेरै यात्रुमा असर पर्ने भएकाले समयमै विमानस्थल पुगि सेवामा सहयोग गर्न समेत संघले आग्रह गरेको छ ।

संघले टिकट लिएर चेकइन गरिसकेका अतिविशिष्ट, विशिष्ट तथा आम सर्वसाधारणलाई विमानस्थल छाडेर गए विमान छुट्न सक्ने स्पष्ट पारेको छ ।

काठमाडौं विमानस्थलबाट पर्यटकीय सिजनमा दैनिक ४ सय सम्म आन्तरिक र ७० वटासम्म अन्तरराष्ट्रिय उडान हुन्छन् । यी सबै उडान व्यवस्थापन गर्न अहिले विमानस्थललाई पनि हम्मे हम्मे परिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here