आठौं राष्ट्रिय खेलकुदको उद्घाटन आज, तयार भयो नेपालगञ्ज रंगशाला

काठमाडौं, ५ बैशाख । गत चैत २७ गतेदेखि नै विभिन्न खेलहरु खेलाउन सुरु गरिएको भएपनि आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज गरिने भएको छ ।

बिहीवार साँझ साँढे पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा आठौं राष्ट्रिय खेलकुदको भव्य रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनको लागि नेपालञ्ज रंगशाला रातारात गरेर तयार गरिएको छ । रंगशाला तयार भए पछि प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बताए ।

११ टीमका पाँच हजार २११ खेलाडी सहभागी

राष्ट्रिय खेलकुदमा ७ प्रदेशका टीमका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टीमले सहभागिता जनाएका छन् ।

यस्तै यसपाली पहिलोपटक गैर आवासीय नेपाली संघ (एनआरएनए)को टीमले पनि प्रतियोगितामा सहभागिता जनाएको छ ।

प्रतियोगितामा पाँच हजार २११ खेलाडी सहित प्रशिक्षक, व्यवस्थापक, अफिसियसल, रेफ्री गरी ११ हजारको सहभागिता रहेको बताइएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन बिहीबार हुने भए पनि चैत २७ गतेदेखि नै विभिन्न खेलहरु सुरु भैरहेका छन् ।

प्रतियोगिता मुख्य गरी ५ नम्बर प्रदेशका बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीमा हुनेछ भने केही खेल काठमाण्डौ, ललितपुर र पोखरामा पनि भैरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here