लकडाउनका कारण रोकिएका सयबढी योजनाले पाए निर्माणको अनुमति

कठमाडौं, २६ बैशाख । लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालयले १०० बढी आयोजनालाई अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

उनले भने, ‘लकडाउनका समयमा विकास निर्माणका कामलाई सावधानी अपनाएर निर्माण गर्न स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको हो ।’ लकडाउनको अवधि थपिँदै गएपछि जिल्ला प्रशासनले केही दिनयता स्थानीय तहका समपूरक अनुदानका योजना र ठूला आयोजनालाई अनुमति दिएको हो ।

व्यवसायीले निर्माण कार्य अघि बढाउन सम्बन्धित कार्यालयमार्फत जिल्ला प्रशासनलाई आग्रह गरेअनुसार अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए । उनले भने, ‘लकडाउनको मापदण्डअनुसार काम गराउँछौँ भनेर आएका सिफारिस र रकम फ्रिज हुने खालका योजनालाई अनुमति दिइएको छ ।’

स्थानीय तहमा सुर्नया गाउँपालिकाबाहेक सबै स्थानीय तहले विकास निर्माणको कामका लागि अनुमति लिएका छन् भने विकासे योजनामा महाकाली जलाधार पाटनबाहेक सबैले अनुमति मागेको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।

माग भइआएका सबै स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विश्वभर महाकारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएदेखि यहाँका विकास निर्माणका कामहरु ठप्प छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here