नेपाल बैंकको नाफा घट्यो, ब्याज असुल नहुँदा वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाडौं, २८ बैशाख । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार चैत समसान्तमा गत आवको सोही अवधिको भन्दा मुनाफा घटेको छ ।

गत आवको चैत मसान्तसम्ममा २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकले चालु आवको सोही अवधिसम्ममा १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च अधिक बढेपछि बैंकको खुद ब्याज आम्दानी घट्न गई नाफा घट्न दबाब पुगेको हो।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नियामकिय जगेडामा ट्रान्सफर गरेका कारण वितरण योग्य मुनाफा ऋणात्मक भएको हो।

सो अवधिसम्ममा बैंकले ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ५० करोड ७० लाख रुपैयाँ कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४७ करोड २८ लाख रुपैयाँ घटेर २ अर्ब ६५ करोड ५ लाखमा सीमित भएको छ।

९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब १७ करोड ६२ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब ८५ करोड २५ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आवको चैत मसान्तमा ३० रुपैयाँ ५२ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा घटेर २७ रुपैयाँ १३ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ २९६ रुपैयाँ ६३ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ९.२५ गुणा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here