हिमालयन बैंकको नाफा १५.०५ प्रतिशतले वृद्धि

काठमाडौं, २८ बैशाख । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ३१ करोड ७१ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । बैंकले गत आवको चैतसम्म २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

आवको तेस्रो त्रैमासमा दुई अर्ब २६ लाख १७ हजार मुनाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा दुई अर्ब ३१ करोड ७१ लाख १४ हजार खुद मुनाफा आर्जन गरेको छ ।

उक्त अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ८२ करोड ८७ लाख ६३ हजार छ ।

चालू आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ अर्ब ८४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ८ करोड ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७ करोड ९० लाख रुपैयाँ बढी हो भने सञ्चालन मुनाफा २२ करोड १० लाख रुपैयाँ बढी हो।

नेपाल राष्ट्र बैंकले गत चैतमा कोभिड १९ ले प्रभावित व्यावसायिक क्षेत्रका लागि सहुलियत घोषणा गर्दै चैत मसान्तमा किस्ता तिर्नेलाई ब्याजमा १० प्रतिशत छुट र चैतमा तिर्न नसक्नेलाई असारमा मसान्तमा तिर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको उक्त निर्देशनले चैत मसान्तमा ४० प्रतिशत पनि ब्याज असुल हुन नसको बैंकहरूले बताएका थिए ।

राष्ट्र बैंकले लागु गरेको एनएफआरएसअनुसार वित्तीय विवरणमा बैंकहरूले असुल हुन बाँकी रहेको तर पाकेको ब्याजलाई पनि आम्दानीका रूपमा गणना गर्नुपर्ने हुन्छ ।

तर यसरी असुल हुन नसको ब्याजलाई नेपाल राष्ट्र बैंकले तोकेको रेगुलेटरी रिजर्भमा राख्नुपर्ने हुन्छ । जसले गर्दा हिमालयन बैंकको चैत मसान्तसम्ममा दुई अर्ब ३१ करोड माथि मुनाफा आर्जन गर्दा पनि बैंकको वितरणयोग्य मुनाफा गत वर्षको तुलनामा ३७.९२ प्रतिशतले घटेको छ ।

बैंकले नउठेको ब्याज आम्दानीले पनि मुनाफामा देखाएको छ । तर उक्त नउठेको ब्याज आम्दानीलाई नेपाल राष्ट्र बैंकले रेगुलेटरी रिजर्भमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

जसअनु्सार बैंकले चैत मसान्तमा ७२ करोड भन्दा बढी रकम रेगुलेटरी रिजर्भमा राखेको छ । जसले बैंकको वितरणयोग्य मुनाफा घटेको हो ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ। हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ छ ।
तेस्रो त्रैमाससम्ममा बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ र सेयरधनी कोषमा १ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्म १ खर्ब १६ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब ८२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ३ अर्ब ८४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३२.९६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १८४.५० रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात १.११ प्रतिशत, र मूल्य आम्दानी अनुपात १५.१७ गुणा र पूँजी कोष अनुपात १३.४२ प्रतिशत छ ।