उपत्यका भित्रिने नाकामा थप कडाइ, संक्रमित टोलमा हिँडडुल गर्न रोक

काठमाडौं, १ जेठ । सरकारले उपत्यका भित्रिने नाकामा थप कडाइ गरेको छ । पछिल्लो दुई दिनमा उपत्यकाभित्र देखिएका चार जना कोरोना संक्रमित बाहिरी जिल्लाबाट आएको पाइएपछि नाकामा थप कडाइ गरिएको हो ।

उनीहरु लकडाउनको समयमा सरकारले जारी गरेको सवारी पास लिएर नै जिल्ला बाहिरबाट आएको खुलेको छ। त्यसैले गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास आज देखि लागू हुने गरी खारेज गरेको छ।

पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ। यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्था रोकिएको छ ।

प्रहरीको अनुसार उपत्यकाभित्र संक्रमित देखिएको भक्तपुरको दुवाकोट र मध्यपुर ठिम र काठमाडौंको चन्द्रागिरि नगरपालिकामा थप कडाइ गरिएको छ। संक्रमित रहेको टोलमा मानिसलाई हिँडडुल गर्न समेत रोक लगाइएको छ।

सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here