फेरी पारिवारिक घुमघामकाे केन्द्र बन्दै रत्नपार्क, आम्दानी दैनिक ३० हजार

-जितेन्द्र खनाल

काठमाडाैं, ८ वैशाख । केही वर्षअघिसम्म अस्तव्यस्त र भद्रगोल रहेको रत्नपार्कको अवस्थामा अहिले धेरै सुधार आएको छ ।

करीब ५ वर्षअघि पार्क रमिते र यौनकर्मीको अड्डाको रुपमा चिनिन्थ्यो, जसकारण परिवार सहित पार्क छिर्न लाजमर्दो स्थिती थियो । त्यस्तै सडक व्यापारी र चटकेहरुले पनि पार्कलाई कब्जा नै गरेका थिए ।

पार्कमा भएका पानीका फोहरा बिग्रेका थिए, बस्न बनाइएका बेन्चहरु भाँचिएका, सिमेन्टका रेलिङहरु फुटेका थिए भने पानीको पोखरी फोहोर र लेउले भरिएको थियो । त्यस्तै, पार्कमा भएका फूलको बोटहरु उजाड थिए ।

काठमाडौंको गर्मी र धुलोधुँवालाई छलेर एकछिनको लागि हरियालीयुक्त वातावरणमा शान्तसँग बसौं वा साथीभाई र परिवारसँग एकै छिन घुम्न जाँउ भन्ने आशमा रत्नपार्क छिर्ने मानिसलाई पार्कको दुर्दशा देखेर दिक्क लाग्ने गथ्र्यो ।

त्यसपछि काठमाडौं महानगरपालिकाले पार्कको अवस्था सुधार गर्ने योजना बनायो र केही समय लगाएर पार्कको पुननिर्माण सुरु गर्यो ।

रुप फेरिएको रत्नपार्क

अहिले रत्नपार्कको अवस्था पुरै फेरिएको छ । अवस्था मात्रै होइन नाम पनि फेरिएर शंखधर साख्वा उद्यान भएको छ तर, अझैपनि सबैले पुरानै नामले नै चिन्छन् ।

रत्नपार्क अहिले सुधारिएर चिटिक्कको बनेको छ । पार्क वरिपरी रोपिएका रंगीबिरंगी फूलहरु फूलिरहेका छन्, बस्नलाई पर्याप्त बेन्चहरु छन् ।

पार्कभित्र छिर्नासाथ मनमोहक पानीको फोहराले स्वागत गर्छन् । बीचबीचमा छाता आकारको बस्ने ठाँउ बनाइएका छन् जहाँ बसेर साथीहरुसँग धेरै बेर भुल्न सकिन्छ ।

पर्याप्त क्षेत्रफल, बच्चाहरुको लागि पनि खेल्ने छुट्टै स्थानहरु र विभिन्न रङ्गी विरङ्गी फुलहरु र बोटबिरुबाहरुको कारण रत्नपार्क अहिले धेरैको बिदामा घुम्ने स्थान बनेको पार्कका कर्मचारी दिनानाथ सापकोटा बताउछन् ।

यस पार्कलाई काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले प्रत्यक्ष रुपमा हेरचाह गर्ने गरेको छ त्यसैले पहिले जस्तो भद्रगोल र फोहोर छैन ।

२०७२ सालमा भूकम्प गएपछि केही समय बन्द भएको पार्क २०७२ असार १५ गतेबाट फेरी सञ्चालनमा आयो ।

घुम्नेको संख्या बढ्यो, दैनिक करीब ३० हजार आम्दानी

अहिले रत्नपार्क काठमाडौं बासीको सफा हरियालीयुक्त खुल्ला स्थानमा परिवारसहित घुम्ने चाहनालाई केहि हदसम्म भएपनि पुरा गर्न सक्ने बनेको छ ।

यस उद्यानले गर्ने सबै आम्दानी र खर्चहरुको हिसाबकिताब काठमाडौं महानगरपालीकाले हेर्ने गरेको उद्यान प्रमुख हरिशरण केसी बताउँछन् ।

यस आर्थिक वर्षको साउन देखि फागुनसम्म आठ महिनामा पार्कले अहिलेसम्म ६९ लाख ६२ हजार आम्दानी गरीसकेको छ ।

त्यस्तै यस उद्यानमा समय विताउनको लागि प्राय सबै उमेर समुहका व्यक्तिहरु आउने गरेको पनि केसीले बताए । साउन देखि फागुन सम्म करीब २ लाख ९० हजार टिकट बिक्री भएको पनि उनले जानकारी दिए ।

पार्कलाई अझै व्यवस्थित बनाउन हालसालै यस उद्यानमा विभिन्न प्रकारका फूलहरु थपिएको पनि उनले बताए । साथै उद्यानका रेलिङ र संरचनाहरुलाई विभिन्न प्रकारका रङ्गहरुले सजाईएको छ ।

म्युजिक भिडियो सुटिङ गर्नेको लहर

पार्कको अवस्थामा सुधार भएपछि परिवार लिएर पार्क घुम्न आउनेको संख्यामात्रै बढेको छैन विभिन्न स्वदेशी र विदेशी म्युजिक भिडियोहरुको सुटिङ गर्ने स्थलको रुपमा विकास भएको छ ।

त्यस्तै नेपाली ठुलो पर्दाका फिल्महरुको गीतको पनि सुटिङ्ग हुने गरेको छ । काठमाडौं शहरभित्रै आकर्षक र मनमोहक भएकाले म्युजिक भिडियो सुटिङ गर्नेको रोजाईमा पर्न थालेको छ ।

सुटिङ्ग गर्न आउनेको संख्या बढेपछि उद्यान व्यवस्थापनले त्यसको लागि शुल्क पनि तोकेको छ ।

जस अनुसार नेपाली म्युजिक भिडियो सुटिङ गरेको प्रतिदिन पाँच हजार रुपैयाँ तोकिएको छ भने ठूलो पर्दाको फिल्मको लागि १० हजार रुपैंया रहेको छ ।

विदेशी फिल्मको लागि २० हजार रुपैंया लाग्ने व्यवस्था रहेको छ । त्यस्तै विवाह वा अन्य कुनै प्रयोजनमा फोटोसुट गर्नेहरुको लागि पाँच सय रुपैयाँ शुल्क लिने गरिएको छ ।

पार्कमा फोटो सुट र भिडियो सुट विहान ८ बजेदेखि साझ ६ बजेसम्म गरिसक्नुपर्ने नियम बनाइएको छ ।

यस्तो छ पार्कको प्रवेश शुल्क

सर्वसाधारण नेपाली नागरिकले पार्कमा प्रवेश गर्न २५ रुपैयाँको टिकट काट्नुपर्छ ।

यस पार्कमा विद्यार्थीको लागि विशेष छुटको व्यवस्था रहेको छ । पहिचान पत्र भएको विद्यार्थीले १५ रुपैयाँको टिकट काटेर रत्नपार्क छिर्न सक्छन् ।

त्यस्तै विदेशीको हकमा एसियाली देशका नागरिकको लागि ५० रुपैंया र अन्य देशका नागरिकको लागि ७५ रुपैंया प्रवेश शुल्क तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here