कोरोनाले मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा अन्त्येष्टि, यसरी हुन्छ शव व्यवस्थापन

प्रतीकात्मक फोटो

काठमाडौं, ३ जेठ । सरकारले कोरोना संक्रममणको कारण निधन भएकी महिलाको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने भएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया महिलाको शुक्रबार साँझ धुलिखेल अस्पतालमा निधन भएको थियो।

कोरोनाको संक्रमणबाट निधन भएका व्यक्तिको प्राटोकल अनुसार सेना र प्रहरीले धुलिखेल अस्पतालबाट महिलाको शव पशुपति आर्यघाटमा ल्याएर अन्त्येष्टि गर्ने तयारी थालेको हो । ‘मृतकको अन्त्येष्टि आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिने प्रहरीले जनाएको छ ।

धुलिखेल अस्पतालमा गरिएको कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट तीन पटकसम्म पोजेटिभ आएको थियो। श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको अस्पतालले जनाएको छ।

श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको छ । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

यस्तो छ कार्यविधिमा व्यवस्था

कसरी शवको व्यवस्थापन गर्ने भनेर सरकारले चैत २५ गते जारी कार्यविधिमा मृृतकका आफन्तले शव चाहेमा एक मिटरको दुरीबाट मात्र हेर्न पाउने उल्लेख छ ।

कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने तथा मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउन भनिएको छ ।

त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने भनिएको छ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुनेतथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here