बाँझो जग्गामा खेती गर्नेलाई अनुदान: कोदोखेतीलाई प्रतिरोपनी २ हजार, धानलाई ५ हजार

स्याङ्जा, ६ जेठ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ ।

खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ किसानलाई अनुदान दिने निर्णय गरिएको बताए ।

अध्यक्ष सुवेदीले भने, ‘गाउँघरमा खेतीयोग्य जमीन बाँझै छन्, युवाहरु रोजगारीको खोजीमा विदेशिएका छन् । यो परम्पराको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले बाँझो जमीनमा खेती गर्ने किसानका लागि अनुदान दिने योजाना ल्याएका हौं ।’

आफ्नै जग्गामा धानखेती गर्ने किसानलाई २ रोपनीको ४ हजार, आफ्नै जग्गामा कोदोखेती गर्नेलाई प्रतिरोपनी २ हजार र भाडामा लिएर धानखेती गर्नेलाई ५ हजार रुपैयाँ अनुदान दिइने छ । दलहन वा तरकारी खेती गर्नेलाई २ हजार ५०० रुपैयाँ अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here