३१ परियोजनामा विदेशी लगानीकर्ताकाे ४८ आवेदन, २५ खर्ब लागत

यातायात पूर्वाधारका ९ परियोजनामा २२ आवेदन

काठमाडौं, ८ वैशाख । सरकारले गत चैत १५ र १६ गते काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलनमा ‘शो केस’ गरिएका ७७ वटा मध्ये २६ वटा परियोजना निर्माणको लागि विदेशी लगानीकर्ताबाट ४३ वटा आवेदन प्राप्त भएका छन् ।

लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीका अनुसार आह्वान नगरिएका थप ५ वटा परियोजनाहरुमा समेत आवेदन प्राप्त भएका छन् । आवेदन प्राप्त परियोजनाहरुको कुल अनुमानित लागत २५ खर्ब भन्दा बढी रहेको छ ।

लगानी सम्मेलनमा नेपाल सरकारको तर्फबाट ५० र निजी क्षेत्रबाट २७ वटा परियोजना ‘शो केस’ गरिएका थिए ।

आवेदन प्राप्त भएका परियोजनाहरु कृषि, स्वास्थ्य तथा शिक्षा, उर्जा, उद्योग, यातायात तथा सहरी पूर्वाधार क्षेत्रका रहेका छन् ।

सबैभन्दा धेरै यातायात पूर्वाधारका ९ परियोजनामा २२ आवेदन परेका छन् भने उर्जा पूर्वाधारका ७ परियोजनामा ८ आवदेन प्राप्त भएको लगानी बोर्डले जानकारी दिएको छ । त्यस्तै कृषि पूर्वाधारका ५ परियोजनामा ७ आवेदन परेका छन् ।

लगानी बोर्डका अनुसार ती मध्ये पहिलो चरणमा २७ परियोजनाको लागि ३ महिनाभित्र विकासकर्ता छनौट गर्ने तयारी रहेको छ ।

त्यस्तै दोस्रो चरणमा ९ महिनाभित्र १७ र तेस्रो चरणमा १४ महिनाभित्र ६ परियोजनाका विकासकर्ता छनौट गर्ने बोर्डको योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here