रेसुंगा एयरपोर्टको धावनमार्ग कालोपत्रे हुँदै

काठमाडौं, ९ बैशाख । गुल्मीको सिमिचौरस्थित रेसुंगा विमानस्थल कालोपत्रे गर्ने प्रक्रिया शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अघिल्लो साता गुल्मी एयरपोर्टको धावनमार्गको स्तरोन्नती, ट्याक्सी वे, एप्रोन तथा अन्य आवश्यक निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले गुल्मी एयरपोर्टको कालोपत्रे प्रक्रिया शुरु भएको जानकारी दिए । यो विमानस्थल संचालनमा आएपछि गुल्मीसहित पाल्पा, स्याङ्जा, प्यूठान र अर्घाखाँचीसहित पहाडी जिल्लामा हवाई यातायात सहज हुने अपेक्षा गरिएको छ । अहिले यी जिल्लाबाट विमान चढेर राजधानी आउन भैरहवा पुग्नुपर्ने बाध्यता छ ।

अघिल्लो वर्ष जेठ २५ मा तारा एयरको जहाजमार्फत यस विमानस्थलमा सफल परीक्षण उडान गरिएको थियो । रेसुंगा नगरपालिकास्थित सिमिचौरमा निर्माण भएको यो विमानस्थल गुल्मी सदरमुकाम तमघासबाट १० किलोमिटर दूरीमा अवस्थित छ ।

यो विमानस्थल तत्कालिन पर्यटनमन्त्री तथा वर्तमान परराष्ट मन्त्री प्रदीप ज्ञवालीेले २५ असार २०६३ मा शिलान्यास गरेका थिए । यो उनको महत्वकांक्षी आयोजना हो । धावनमार्ग पीच हुने भएपछि मन्त्री ज्ञवालीले यो विमानस्थलबाट नियमित उडान हुने जानकारी गराएका छन् । १३ करोड लागतमा धावनमार्ग पीच भएपछि उडान नियमित हुने उनको भनाई छ ।

धुले धावनमार्ग बनाएर परीक्षण उडान हुनसम्म यो विमानस्थलमा १४ करोड ८० हजार रुपैयाँ खर्च भइसकेको छ । यस विमानस्थलमा ट्वीनअटर र सोही मोडलका साना जहाजबाट मात्र उडान अवतरण सम्भव हुन्छ । ५ सय ५० मिटर लम्बाई र २ सय मिटर चौडाईको धावनमार्ग बनाएर परीक्षण उडान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here