राजदूत शाक्यलाई ‘एम्बेस्डर अफ इयर’ सम्मान

काठमाडौं, ११ जेठ । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेस्डर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छन् ।

‘द एम्बेस्डर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ सम्मान गर्ने घोषणा गरेको हो ।

९० वटा देशका दुतावासहरु रहेको इजरायलमा सो सम्मानबाट राजदूत डाक्टर शाक्य सम्मानित भएकी हुन् । ९० वटै देशका राजदूतले उनको पक्षमा मत जाहेर गरेपछि उनी उक्त सम्मानबाट सम्मानित भएकी हुन्। उनी उक्त सम्मानबाट सम्मानिन हुने एसियाली मुलुककै पहिलो राजदूत हुन ।

९० वटा देश मध्येबाट अहिलेसम्म यूरोप र अमेरिकी मूलुकका राजदूतले मात्र उक्त सम्मान पाउँदै आएका थिए । उक्त सम्मानको घोषणापछि राजदूत शाक्यले खुशी व्यक्त गरेकी छन्।

‘यो सम्मानलाई नेपाल र नेपालीप्रतिको सम्मानका रुपमा लिएको छु’ उनले भनिन, ‘यो सम्मानले नेपाल र नेपालीको शीर उच्च बनाएको छ ।’ राजदूत शाक्यले आफूलाई यो सम्मानबाट सम्मानित हुन सहयोग गर्ने ९० मुलुककै राजदूत, इजरायली सरकार, इजरायली जनता र त्यहाँ रहेका नेपालीलाई पनि धन्यवाद दिएकी छन् ।

राजदूत शाक्यलाई उक्त सम्मानबाट सम्मान घोषणा गर्ने कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकुल अवस्थामा पनि सवै देशका राजदूतहरु कार्यक्रममा सहभागी भएकोमा धन्यवाद दिएका थिए।

डा. शाक्यले राजदूत भएर पद बहालीपछिको यो अवधिमा इजरायल र नेपाल बीच विभिन्न विषयमा सम्झौता गरी इजरायलबाट नेपाललाई प्रविधि, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा सहयोग दिलाउन उल्लेख्य भूमिका निर्वाह गर्दै आएकी छन् ।

केही दिन अघि मात्रै डा. शाक्यकै पहलमा नेपाल इजरायल चेम्वर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देश बिच व्यापार व्यवसाय आदान–प्रदान गर्ने सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, उर्जा आदि क्षेत्रहरुमा व्यापार व्यवसाय गर्ने गरी सम्झौता भएको थियो ।

डाक्टर शाक्यले ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा नै नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी थिईन।

उनले इजरायलको जेरोसेलममा इजरायली राष्ट्रपति रिउनभेन रिभलीन समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै इजरायली उच्चप्रविधिको तालिम केन्द्र खोल्ने र त्यस मार्फत कृषि, सूचनाप्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने बताएकी थिईन ।

विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट लगायतमा सहयोग गर्न चासो देखाएको थियो ।

डाक्टर शाक्यले राजदूतको पदभार ग्रहण गर्नु अघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टायन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया बिच (समुद्री तट) मा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो ।

पछि उनकै पहलमा गलत सूचना सच्याउने काम भएको थियो । उक्त बोर्डमा झण्डासमेत चीनको राखिएको थियो । फेरिएको होर्डिङ बोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झन्डा नेपालको राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here