२४ घण्टामा ३७८२ जनाको पीसीआर परीक्षण, ९० जना संक्रमित थपिए

काठमाडौं, १३ जेठ । कोरोनाको आशंकामा नेपालमा हालसम्म १ लाख ५२ हजार ३ सय ९१ जनाको नमूना परीक्षण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ५४ हजार ४ सय २४ जनाको पीसीआर र ९७ हजार ९ सय ६७ जनाको आरडिटिबाट परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। जसबाट ९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ।

२ वर्षीया बालिकामा समेत संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जसमा महोत्तरीका २ जना रहेका छन्। यस्तै जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जनामा संक्रमण देखिएको छ।

रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजटिभ देखिएको छ। एक जना जनकपुर अस्पतालमा उपचाररत धुनुषाका पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जसमा २ वर्षीया बालिका पनि छन्।

रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ।

यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको हो।

पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ। सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।

नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here