पुननिर्माणमा सवा ४ खर्ब रकम अपुग

काठमाडौं, १० बैशाख । भुकम्पपछिको पुननिर्माणको बाँकी काम सम्पन्न गर्न थप ४ खर्ब २९ अर्ब रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ ।

वि.सं. २०७२ सालको विनाशकारी भुकम्पको चार वर्षे समीक्षा गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले वित्तीय व्यवस्थापन पुनर्निमाणमा सबैभन्दा ठूलो चुनौति बनेको बताए ।

‘पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौती वित्तीय व्यवस्थापनको देखिएको छ’ उनले भने ।

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल रु. ९ खर्ब ३८ अर्ब रकमको आंकलन गरिएको थियो । जस मध्ये आर्थिक वर्ष ०७४/७५ सम्म कुल रु. १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा रु. १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबाट करिव रु. २ खर्ब परिचालन हुने अपेक्षा प्राधिकरणको छ ।

यस हिसाबले पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिव रु. ४२९ अर्ब रकम आवश्यक पर्नेछ ।

‘यसरी पुनर्निर्माणको प्रगति हाम्रो वित्तीय व्यवस्थापनमा निर्भर हुने स्थिति देखा परेको छ । यसका लागि हामी अर्थमन्त्रालय र दातृ निकायहरुसँग सघन छलफलमा जुटेका छौं’ ज्ञवालीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here