युट्युबमा १० कराेड भ्यूज पाउने पहिलो नेपाली गीत बन्याे ‘कुटुमा कुटु’

काठमाडौं, १० वैशाख । युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली गीत ‘कुटुमा कुटु’ले १०० मिलियन भ्यूज कटाउने पहिले नेपाली गीतको कीर्तिमान पनि राख्न सफल भएको छ ।

नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’मा समावेश भएको लोकलयमा आधारित यस गीत मंगलबार बिहान युट्युबमा १०० मिलियन अर्थात १० करोड भ्यूज बटुल्न सफल भएको हो ।

यो समाचार तयार पार्दासम्म गीतको भ्यूज १० करोड ५० हजार नाघेको छ ।

२०१७ मे २८ मा हाइलाइट्स नेपालको च्यानलबाट अपलोड गरिएको यो गीतले दुई वर्ष पनि नपुग्दै दश करोड भ्यूज बटुलेको हो ।

राजन राज सिवाकोटीको शब्द सगींत रहेको यस गीतमा राजन राज सिवाकोटी, मेलिना राई र राजन ईसानको स्वर रहेको छ ।

त्यस्तै स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङको अभिनय रहेको गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

यसैगरी ‘कुटुमा कुटु’ पछि अहिलेसम्म युट्युबमा धेरै हेरिएको दोस्रो नेपाली गीत ‘नाच फिरिरी’मा पनि स्वस्तिमा र निश्चल कै अभिनय रहेको छ ।

महेश काफ्लेको स्वर संगीत र शब्द रहेको ‘नाच फिरिरी’ गीत यो समाचार तयार पार्दासम्म ४ करोड ४३ लाख २२ हजार पटक हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here