स्वास्थ्यकर्मीले अत्याधिक भत्ता माग्नु आपत्तिजनकः संसदीय समिति

काठमाडौं, २२ जेठ । संघीय संसदको महिला तथा सामाजिक समितिले स्वास्थ्यकर्मीहरुले जारी कार्यविधिहरुको अपव्याख्या गरी अत्याधिक भत्ता रकम माग गर्नु अमर्यादित भएको बताएको छ ।

समितिको बिहीबार बसेको बैठकले स्वास्थ्य सेवा प्रदान गर्न स्विकार नगर्नु, कोरोना संक्रमितको उपचारमा सहानुभुतिपूर्ण व्यवहार नदेखाउनु र यद्यपि जारी कार्यविधिहरुको अपव्याख्या गरी अत्याधिक भत्ता रकम माग गर्नुजस्ता कार्यलाई आपत्तिजनक मानेको हो ।

त्यसैगरी कोरोना संक्रमण देखिएका जिल्लाबाट उपचारका लागि आएका अन्य रोगका विरामी अपरेशन थिएटरमा पुगेपछि अन्तै रिफर गरिनु, बिरामी माथि अमर्यादित व्यवहार गर्नु, उपचार पाउने विरामीको अधिकारको सम्मान गर्न नसक्नु, एम्बुलेन्सले संक्रमित बोक्न नचाहनु जस्ता क्रियाकलापले स्वास्थ्यकर्मीको मर्यादा नबढाउने उसले बताएको छ ।

व्यक्तिगत सुरक्षामा अनिवार्यरुपमा ध्यान दिइनुपर्छ तर सुरक्षाको आवश्यक प्रवन्ध पश्चात पनि कर्तव्य विमुख हुन खोज्ने क्रियाकलाप पेशागत मर्यादाका लागि घातक भएको समितिको भनाइ छ ।
यस्ता विषयहरु माथि समितिले गम्भिरतापूर्वक हेरिरहेको पनि उसको निर्णयमा उल्लेख छ ।

समितिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै जिम्मेवार हुनुपर्ने बताएको छ ।

आइसोलेसन, क्वारेन्टिनमा बस्नेहरु अझ बढी अनुशासित, संयमित भइ कार्यविधि परिपालना गर्नुपर्ने देखिन्छ । आफूखुशी क्वारेन्टिनबाट भाग्ने, परीक्षणका लागि आउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी माथि अमर्यादित व्यवहार गर्ने जस्ता कामले कोरोना नियन्त्रण र रोकथाममा सघाउँदैन, निर्णयमा भनिएको छ ।

त्यसैगरी समितिलृ राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सहज र प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

कोरोनाभाइरसको महामामारीका बेला जटिल खालका गर्भवती, सुत्केरी तथा अन्य समस्यामा परेका महिलाहरुलाई विशेष सेवा उपलब्ध गराउन आवश्यक रहेको भन्दै समितिले यस्तो निर्देशन दिएको हो ।

‘यस कार्यक्रमलाई अझ बढी सक्रिय तथा प्रभावकारी बनाउन र यसको प्रक्रियालाई सहज एवम् व्यवस्थित बनाउन समिति महिला बालबालिका तथा स्वास्थ्य मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णयमा भनिएको छ ।

उसका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमले जटिल खालका गर्भवती, सुत्केरी, स्वास्थ्य जोखिममा रहेका र अत्यावश्यकरुपमा स्वास्थ्य सेवा चाहिने महिलाहरुको उद्धार गरी उपचारमा सहजता सृजना गर्ने कार्यबाट दुर्गम क्षेत्रमा जोखिमपूर्ण स्वास्थ्य अवस्थामा रहेका महिलाहरु लाभान्वित भई आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here