यी हुन सर्वाधिक धेरै कमाउने ५ फुटबल खेलाडी, कति कमाउँछन् ?

काठमाडौं, ११ वैशाख । फुटबल खेललाई विश्वभरका मानिसहरुले उत्तिकै मनपराउँछन्। त्यसैले यो खेल लोकप्रिय मात्रै नभई व्यावसायीक रुपमा फुटबल खेल्ने खेलाडीहरुको आम्दानी पनि राम्रो हुने गर्छ ।

यूरोपका नामुद फुटबल क्लबहरुमा खेल्ने विभिन्न खेलाडीहरुको विलासी जीवनशैलीबाट पनि यो खेलमा लागेर नाम मात्रै होइन दाम पनि धेरै कमाउन सकिने आँकलन गर्न सकिन्छ ।

चर्चित फुटबल क्लबहरुबाट फुटबल खेल्ने चर्चित खेलाडीहरुको कमाई कति होला भन्ने जिज्ञासा धेरैमा हुने गर्छ ।

धनाढ्यहरुको सूची निकाल्ने चर्चित फोब्र्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै पैसा कमाउने शिर्ष १०० खेलाडीको सूची निकालेको थियो ।

सोही सूचीमा आधारित भएर हामीले सर्वाधिक धेरै पैसा कमाउने ५ फुटबल खेलाडीको सूची तयार गरेका छौं ।

यी हुन् सर्वाधिक धेरै कमाउने ५ फुटबलरः

१. लियोनेल मेस्सी

अर्जेन्टिनामा जन्मिएका मेस्सीको पुरा नाम लियोनल एन्ड्रेज मेस्सी हो । स्पेनी क्लब बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका ३१ वर्षिय मेस्सी विश्वकै सबैभन्दा धेरै पैसा कमाउने फुटबल खेलाडी हुन् ।

मेस्सीले सन् २०१८ मा १११ मिलियन अमेरिकी डलर अर्थात १२ अर्ब ३५ करोड रुपैयाँ भन्दा धेरै कमाएका थिए । ५ पटकका बेलोन डि’ओर विजेता मेस्सी सर्वाधिक धेरै कमाउने फुटबलर मात्रै होइन साथै सर्वाधिक धेरै कमाउने दोस्रो खेलाडी हुन् ।

२. क्रिस्टयानाे रोनाल्डो

पोर्चुगलमा जन्मिएका ३४ वर्षिय क्रिस्टयानाे रोनाल्डो विश्वकै सबैभन्दा धेरै पैसा कमाउने दोस्रो फुटबल खेलाडी हुन् ।इटालीको जुभेन्टस क्लबबाट व्यावसायीक फुटबल खेल्ने रोनाल्डो गत सीजनमात्रै स्पेनको रियल मेड्रिडबाट त्यता गएका थिए ।

समकालिन फुटबलमा मेस्सी र उनलाई ठूलो प्रतिस्पर्धी मानिन्छ । यी दुईका समर्थकहरुमाको उत्कृष्ट भन्ने झगडा नै पर्ने गर्छ । रोनाल्डोले पनि मेस्सी कै बराबर ५ पटक बेलोन डि’ओर जितेका छन् ।

उनले सन् २०१८ मा १०८ मिलियन अमेरिकी डलर अर्थात करीब १२ अर्ब रुपैयाँ कमाएका थिए ।

३. नेमार जुनियर

ब्राजिलमा जन्मिएका २७ वर्षिय नेमार जुनियर विश्वकै सबैभन्दा धेरै पैसा कमाउने फुटबलरको सूचीमा तेस्रो स्थानमा रहेका छन् ।

उनी अहिलेसम्मकै सर्वाधिक धेरै रकममा एक क्लबबाट अर्को क्लबमा स्थानान्तरण भएका फुटबल खेलाडी समेत हुन् २०१७ मा फ्रेन्च क्लब पिएसजीले बार्सिलोनाबाट उनलाई भित्र्याउन २२२ मिलियन पाउण्ड खर्च गरेको थियो ।

फोब्र्सका अनुसार नेमारले सन् २०१८ मा ९० मिलियन अमेरिकी डलर अर्थात करीब १० अर्ब नेपाली रुपैयाँ कमाएका थिए ।

४. ग्यारेथ बेल

वेल्समा जन्मिएका २९ वर्षिय ग्यारेथ बेल स्पेनी रियल मेड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् । बेल सर्वाधिक धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चौंथो स्थानमा रहेका छन् ।

उनले सन् २०१८ मा ३४.६ मिलियन अमेरिकी डलर अर्थात ३ अर्ब ७८ करोड रुपैयाँ बराबर कमाएका थिए ।

५. पउल पोग्बा

बेलायती क्लब मेन्चेस्टर यूनाईटेडबाट व्यावसायिक फुटबल खेल्दै आएका फ्रान्सेली खेलाडी पउल पोग्बा अहिले २६ वर्षका भए ।

पोग्बाले सन् २०१८ मा फुटबल खेलेरै २९.५ मिलियन अमेरिकी डलर अर्थात करीब ३ अर्ब २२ करोड रुपैयाँ कमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here