सुरक्षा परिषदका अमेरिकी राजदूतलाई गैरआवासीय नेपालीले बुझाए कालापानीसम्बन्धी ज्ञापनपत्र

काठमाडौं, २७ जेठ । गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई कालापानी क्षेत्र नेपालको भएको बारे ज्ञापनपत्र बुझाएको छ ।

संघले गत शुक्रबार क्राफ्टलाई पत्र लेखेको हो । पत्रमा भारतले एकतर्फी रुपमा नेपाली भुमीमा सडक खोलेको र लिम्पियाधुरासम्मको भुभाग नेपलको भएको बारे एनआरएनए अमेरिका क्षेत्रले उनको ध्यान आकर्षित गर्न खोजेको छ ।

भारतले नेपाली भुमी अतिक्रमण गरेको भन्ने शीर्षकमा लेखिएको सो पत्रमा लिम्पियाधुराबाट बग्ने नदी वास्तविक काली नदी भएको र त्यहाँदेखि पूर्वको सम्पूर्ण भुभाग नेपालको भएको बताइएको छ । साथै, सम्बन्धित दस्तावेज पनि पठाइएको एनआरएनएले बताएको छ ।

एनआरएनएले भारतको कदमलाई उत्तेजक भन्दै सडक खोल्ने काम गत नोभेम्बरको एकतर्फी रुपमा नेपाली भुभाग आफ्नोमा देखाउने नक्साकै निरन्तरता भएको बताएको छ ।

उन्नाइसौं शताब्दीको शुरुमा भारतको उत्तराखण्डसमेत नेपालको अधिनमा भएको र बेलायतसँगको सुगौली सन्धीमा काली नदी नेपालको पश्चिम सिमा मानिएको पत्रमा उल्लेख छ । तर अहिले आएर नेपालको करीब ४ सय वर्ग किमि भुभाग भारतले जबरजस्ती हडपेको बताइएको छ ।

एनआरएनए अन्तरराष्ट्रिय समन्वय समिति अमेरिका क्षेत्रका राजन त्रिपाठी, आइसीसी सदस्य जेदु पोखरेल, किरन मरहठ्ठा, तथा भीम बहादुर बिकलगायतले हस्ताक्षर गरेको सो पत्र बोधार्थ अमेरिकी सिनेटर तथा अन्तराष्ट्रिय सम्बन्ध समितिका टिम काइन र बेन कार्डिन, अमेरिक परराष्ट्र मन्त्रालय, संयुक्त राष्ट्र संघका महासचिव, नेपालको परराष्ट्र मन्त्रालय र न्यू योर्क स्थित नेपालको स्थायी नियोगमा पनि पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here