२१ दिनको स्थिति विश्लेषणपछि दोस्रो चरण, सार्वजनिक सवारी खुला अन्तिममा

काठमाडौं, २९ जेठ । सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ। तीन चरणमा खुकुलो बनाउने निर्णय सहित आजदेखि स्वास्थ्य सावधानी अपनाएर पसल खोल्ने दिने निर्णय गरेको हो ।

२१ दिनको स्थिति विश्लेषणपछि दोस्रो चरण सुरु हुनेछ । लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउनेछन्। त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन्।

जसमा सरकारी, गैर सरकारी, निजी कार्यालय, बैंक तथा वित्तीय संस्थामा ७५ प्रतिशत कर्मचारी राखेर खोल्ने दिने सरकारको तयारी छ । पहिलो चरणमा ५० प्रतिशत कर्मचारी राखेर खोल्न दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय असार १ बाट खुल्नेछन्। पहिलो चरणमा आधा कर्मचारी र दोस्रो चराणमा ७५ प्रतिशत र तेस्रो चरणमा सबै कर्मचारी राखी कार्यालय खुल्नेछन्।

दोस्रो चरणणमा रिक्सामा एक जना यात्रु राखेर चलाउन पाइने छ । ट्याक्सी सेवाले पनि चालकबाहेक दुईजनासम्म यात्रु राखेर चलाउन पाउनेछन् ।

रेस्टुरेन्ट, खाजा घरले ग्राहकबीच दुई–दुई मिटरको दूरी कायम गरेर सेवा सञ्चालन गर्न सक्ने छन् । तेस्रो तथा अन्तिम चरणमा सबै सरकारी, गैर सरकारी, निजी कार्यालय पूर्णतः खुला गर्ने, सेवा प्रवाह सुचारु हुनेछ । सङ्क्रमणको जोखिम मूल्याङ्कन गरेर १०० भन्दा कम सक्रिय केसहरू रहेको ठाउँमा अन्तर–जिल्ला आवागमन खुला गर्ने सरकारको तयारी छ ।

त्यही चरणमा सार्वजनिक सवारी खुला हुनेछन् । तर सिटभन्दा बढी यात्रु राख्न पाउने छैनन् । आन्तरिक हवाइ उडान, होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्र, पर्वतारोहण आदि क्षेत्र खुला हुनेछन् ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । कोरोना सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्चस्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको छ ।

बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय गरेको बताएको छ । बैठकले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here