संविधान संशोधन विधेयक सर्वसम्मतले पारित, अब निशान छापमा लिपुलेकसहितको नक्सा

काठमाडौं, ३१ जेठ । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको छ।

लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको हो।

प्रतिनिधि सभामा संशोधनको पक्षमा २५८ मत परेको छ। विपक्षमा शून्य मत परेको छ। अब विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि कार्यान्वयनमा आउनेछ।

शनिबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयकमाथि दफावार छलफलपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

सो प्रस्तावमाथिको छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको थियो ।

यो विधेयक पारित भएसँगै मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ। नेपालको नक्साअनुसारको निशान छाप परिवर्तनका लागि सरकारले ९ जेठमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो।

सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै सरकारले निशान छाप परिवर्तनका लागि संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेको थियो।

नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले सरकारले प्रतिनिधिसभा विधेयक दर्ता गराएको हो।