कनेक्ट आईपीएसको दैनिक कारोबार रु २अर्ब नाघ्यो, कारोबार संख्यामा ७५% वृद्धि

काठमाडौं, २ असार । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आईपीएस ई–पेमेण्ट प्रणालीमा दैनिक कारोबार रु २ अर्ब नाघेको छ ।

बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल—टाइम रिटेल भुक्तानी प्रणालीमा पहिलो पटक जेठ २६ गते देखी कारोबार रकम रु. २ अर्ब नाघेको कम्पनीले बताएको छ । यो हाल सम्मको सबैभन्दा बढी कारोबार हो ।

विगतकोे तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आईपीएस ई–पेमेण्टको मासिक कारोबारमा संख्या र मूल्यको आधारमा क्रमश ७५ प्रतिशत र १८६ प्रतिशतले वृद्धि भएको छ ।
उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरुको कुल मासिक कारोबार क्रमश रु १३.८ अर्ब, रु २४ अर्ब र रु ३९.५ अर्ब रहेका छन् । जसमध्ये ६४ प्रतिशत कारोबारहरु एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)मार्फत कारोबार भएका छन् ।

एनपीआईले बैंक तथा वित्तिय संस्थाहरुको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिंग जस्ता वैकल्पिक च्यानलहरु, पीएसपी तथा पीएसओ, सरकारी निकायहरु र अन्य ठूला संस्थाहरुबीच एकीकृत सेवाका लागि लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ ।

हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्राय सबै बीमा कम्पनी, रेमिटान्स कम्पनी, नेप्से, शेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोेष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरुमा जोडी प्रयोगमा आइसकेको छ ।

कनेक्ट आईपीएस ई–पेमेण्ट प्रणालीमा हाल सम्म ५८ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् जस मार्फत बैंकका ग्राहकहरुले प्रयोगकर्ताको बैंक खातामा मोबाइल नम्बरका आधारमा तथा अन्य लाभग्राहीको बैंक खाता विवरणको आधारमा सिधैं फण्ड ट्रान्सफर गर्न सक्दछन् ।

यस प्ल्याटर्फमा उपलब्ध अन्य भुक्तानीहरुमा सरकारको राजस्वभुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा टप अप, सेयर बजारसंग सम्बन्धित भुक्तानी, ई—कमर्श भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।

यस प्रणालीमा सम्पूर्ण कारोबारहरु सिधैं बैंक खाताबाट हुने गर्दछन् ।

एनसीएचएलले हाल आफ्नो सम्पूर्ण प्रणालीहरुबाटरु १ लाखभन्दा बढिको दैनिक औसत कारोबारहरु गर्दै आएको छ जसको दैनिक राफसाफ मुल्य रु ४० अर्ब भन्दा बढी रहेको छ ।

यस कोभिड–१९ लकडाउनको अवस्थामा अन्य प्रणालीहरुमा कारोबार संख्या कम हुँदा समेत कनेक्ट आईपीएसको कारोबारमा भएको वृद्धिले डिजिटल भुक्तानीको स्वीकार्यता बढेको वा त्यस दिशातिर लागेको संकेत गर्दछ । यसबाट लकडाउन पछि नेपालमा डिजिटल भुक्तानी कारोबारको उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here