चितवनमा डिप बोरिङ खन्दा बालुवामा सुन जस्तो पहेँलो वस्तु भेटियो

काठमाडौं, ७ असार । चितवनको कालिका नगरपालिका–१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो ठाउँको स्थलगत निरीक्षण गरेको छ ।

प्रजिअ भट्टराईका अनुसार बोरिङ खन्दा आएको बालुवामा सिसा बनाउन प्रयोग हुने धातु सिलिका जस्तो पहेँला कणहरु देखिएका छन् । हाल १६० फिट तल बोरिङ खन्दै गर्दा बालुवामा पहेँला कणहरु देखिएका हुन् ।
उनले काम रोकेर ठाउँ सुरक्षित गर्न भनिएको जानकारी दिने । प्रशासनले यस विषयमा गृहमन्त्रालयमा पत्राचार गरेको छ । थप अध्ययनपछि के हो भन्न सकिने प्रजिअ भट्टराईको भनाइ छ ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार नगरपालिकाको अनुदानमा स्थानीय टोलले बोरिङ खन्दै गर्दा सुन जस्ता पहेँला वस्तु देखिएपछि स्थानीयवासीले आफूलाई खबर गरेको बताए। आफूले जिल्ला समन्वय प्रमुख र प्रजिअलाई खबर गरेको श्रेष्ठले जानकारी दिए ।

कालिका नगरपालिका–१ मा स्थानीयवासी सन्तवीर स्याङताङको जग्गामा डिप बोरिङ खन्ने क्रममा निस्किएको बालुवामा सुन जस्तै देखिने कण निस्किएको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here