अर्थतन्त्र लयमा, लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा उच्च वृद्धि

काठमाडौं, १३ बैशाख । नेपाली अर्थतन्त्रले लगातार तेस्रो वर्ष पनि उच्च आर्थिक वृद्धिको बाटो पछ्याएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा ७.७ प्रतिशत र गत आब २०७४/७५ मा ६.३ प्रतिशतले रहेको आर्थिक वृद्धिदर चालु आबमा ६.८१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

यससँगै नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष नेपाली अर्थतन्त्र ३० खर्ब ३१ अर्बको थियो ।

तर, यो सरकारले प्रक्षेपण गरेको वृद्धिदरभन्दा कम हो । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने बताएका थिए ।

यद्यपि अहिले सार्वजनिक गरिएको तथ्यांक अनुमानित हो र त्यसमा आगामी वर्षसम्म संशोधन हुने सम्भावना रहन्छ ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्राथमिक क्षेत्रले अर्थतनत्रमा २७.५९ प्रतिशतको योगदान दिएको अनुमान छ । प्राथमिक क्षेत्रमा कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्रहरु पर्दछन् ।

त्यसैगरी निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानीसहितको द्वितीय क्षेत्रले १४.६० प्रतिशत र सेवा क्षेत्रले ५७.८१ प्रतिशत योगदान दिने प्रक्षेपण गरिएको छ ।

सेवा क्षेत्रमा थोक तथा खुद्रा ब्यापार, होटेल तथा रेष्टुरेण्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल इस्टेट तथा व्यावसायिक सेवा, सावृजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here