‘बाह्य क्षेत्रको अवस्था बिग्रियो, शोधनान्तर स्थिति राम्रो राख्नुस्’

काठमाडौं, १४ बैशाख । निरन्तर बढिरहेको ब्यापार घाटा र त्यसले निम्त्याएको शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले पहल गर्नु पर्ने पूर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठले सुझाव दिएका छन् ।

विगतमा आयात बाहेक बाह्य क्षेत्र (रेमिट्यान्स, पर्यटन विदेशी लगानी आदि) राम्रो रहेकाले शोधनान्तरमा असर नपरे पनि अहिले ती क्षेत्रको अवस्था पनि विग्रिएकाले सुधारका लागि राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने उनको भनाइ थियो । ६४औं वार्षिकोत्सवको अवसरमा शनिबार केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा पूर्व गभर्नर श्रेष्ठले यस्तो बताएका हुन ।

‘पहिले बह्य क्षेत्रले धान्न सक्थ्यो, अहिले अवस्था विग्रिएको छ,’ उनले भने, ‘त्यो अवस्था सुधारका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रलाई पनि लगाउनु पर्यो ।’ उच्च शोधनान्तर घाटा र घट्दो विदेशी विनिमय सञ्चितिले राम्रो संकेत नगर्ने भएकाले त्यसतर्फ सोच्नु पर्ने बेला आएको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरन्जीवि नेपालले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै आर्थिक क्रियाकलापले गति लिन थालेको बताए । ‘कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको छ,’ उनले भने, ‘वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहलकदमीको परिणामस्वरूप वित्तीय पहुँच विस्तार भएको छ ।’

कृषि, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा कर्जा प्रवाह बढेको छ । भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने दिशामा पूर्वाधार निर्माणका महत्वपूर्ण काम अघि बढेको उनले दाबी गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्र बैंकको स्वायत्तता जोगाउन सबै एक भएर लाग्नु पर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here